काठमाडौँ, २४ साउन : काठमाडौँमा आजबाट ‘गाइजात्रा महोत्सव २०८२’ सुरु भएको छ ।
सांस्कृतिक संस्थानको आयोजनामा सुरु भएको साताव्यापी हुने गाईजात्रा महोत्सव २०८२को संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले समुद्घाटन गर्नुभयो ।
सरकारीस्तरबाट राष्ट्रिय नाच घर जमलमा आजदेखि सुरु भएको दोस्रो गाइजात्रा महोत्सव उद्घाटनपछि मन्त्री पाण्डेले संस्कृति संरक्षणको चुनौतीका बीच आयोजना भएको गाइजात्रा महोत्सव आफैँमा महत्वपूर्ण भएको बताउनुभयो ।
मन्त्री पाण्डेले यो महोत्सवले संस्कृतिको संरक्षण गर्दै नयाँ जागरणका लागि आशाको सञ्चार गर्ने कुरामा महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
अझै नयाँ ढंगले यस्ता कार्यक्रमलाई अघि बढाउन आग्रह गर्दै मन्त्री पाण्डेले महोत्सवलाई संस्कृतिको सम्बद्र्धनका साथै उत्पादनमैत्री पनि बनाउनुपर्नेमा जोड दिनुभयो ।
गाइजात्रा महोत्सवमा सामाजिक र राजनीतिक पक्षका विषयमा हुने कलाकारका व्याङ्ग्यले मानिसलाई रुपान्तरित हुनका लागि प्रेरणा दिने पनि मन्त्री पाण्डेको भनाइ थियो । उहाँले यसरी प्रस्तुति दिँदा अभिव्यक्ति स्वतन्त्रतालाई अतिरञ्जित गर्न नहुनेमा सचेत गराउनुभयो ।
डिजिटल युग तथा वैश्वीकरणको प्रभावले समाजमा विकृति, विसंगति बढ्नुका साथै नेपाली संस्कृति नै संकटमा पर्ने खतरा बढेको परिवेशमा नयाँ पुस्तामाझ प्राचीन संस्कृतिको मूलमर्म सही रूपमा सम्प्रेषण गर्न संस्थानले नेपालका सम्पूर्ण सांस्कृतिक चाडपर्व विशेष कार्यक्रम प्रस्तुत गर्दै आइरहेको संस्थानका महाप्रबन्धक किरणबाबु पुनले जानकारी दिनुभयो ।
महाप्रबन्धक पुनले नेवार समुदाय विशेष सांस्कृतिक पर्व गाईजात्रा (सापारू) लाई प्राचीन सांस्कृतिक परम्परा, मूल्य–मान्यता अनुरूप उत्सवका रूपमा मनाउन “गाईजात्रा महोत्सव २०८२” सुरु गरिएको र यही साउन ३१ गतेसम्म जारी रहने जानकारी दिनुभयो ।
उहाँले बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विविधताभित्र एकता भएको राष्ट्र नेपालको पहिचान रक्षार्थ संस्कृतिभित्रको प्रमुख अवयव सांस्कृतिक चाडपर्वहरूको संरक्षण, संवद्र्धन, प्रवद्र्धन तथा पुस्तान्तरणसहित उत्पादनमा जोडदिने उद्देश्यका साथ उक्त कार्यक्रम सुरु गरिएको बताउनुभयो ।
संस्थानले गतवर्षदेखि आफ्नो वार्षिक नीति तथा कार्यक्रमा समेटेर गाईजात्रा महोत्सव गर्ने परम्पराको थालनी गरेको थियो । सोही अनुरुपको यो दोस्रो कार्यक्रम हो ।
यसपालिको महोत्सवमा संस्थानका गायन, वादन, नृत्य र नाटक सम्बद्ध कलाकारहरूका अलावा लोकप्रिय कलाकारहरू लक्ष्मण गाम्नाङ्गे, सुरेन्द्र केसी (मुला साग), शिवशंकर रिजाल (जोगिन्दर), राजा राजेन्द्र पोखेल, हिमेश पन्त, भरतमणि पौडेल, खबपु चञ्चल मगर, सुमन कोइराला (दले दाइ), दिनेश काफ्ले (हाउडे दाइ), सन्तोष थापा, कैलाश कार्की, सुजिता श्रेष्ठ, विकास अर्याल, सरोज भण्डारी र सुयसा खनालको प्रस्तुति रहनेछ ।
संस्थानको कार्यालय र संस्थानको वेभसाइटमार्फत डिजिटल रूपमा टिकट उपलब्ध हुने र मूल्य एक हजार तथा ५०० का टिकट रहेको जनाइएको छ ।
पुनले भन्नुभयो, “शोक र मृत्युसँगको पृष्ठभूमि जोडिएको गाईजात्रा पर्वले नेपाली संस्कृतिले शोकसँगै हाँसोमा पनि साथ दिन्छ भन्ने प्रतिकात्मक अर्थ बोकेको पाइन्छ । यसर्थ गाईजात्रा पर्वभित्र आँसु र हाँसोको अलौकिक सङ्गम रहेकाले बैेग्लै मौलिक संस्कृति पाइन्छ ।”
गाईजात्रा पर्वलाई मौलिक संस्कृति अनुरूप मनाउन र सभ्य सांस्कृतिक सन्देश सम्प्रेषण गर्नका लागि संस्थानले संस्कृतियुक्त रचनात्मक, सौन्दर्यात्मक एवम् कलात्मक कन्टेन्टलाई विशेष जोड दिने संस्थानका अध्यक्ष चन्द्रकुमार राई ‘हतुवाली’ले जानकारी दिनुभयो ।