काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधवार भारतबाट हुने वस्तु आयातमा लाग्ने करमा अझै २५ प्रतिशत कर थपेको घोषणा गरेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अब अमेरिका भित्रिने भारतीय वस्तुमा ५० प्रतिशत कर लाग्नेछ ।
भारतले अझै रुससँग तेल किनिरहेको आरोप लगाउँदै उनले भारतीय वस्तुमाथि कर थपेको बताए । भारत-अमेरिकाबीच व्यापार वार्ता विफल भएपछि ट्रम्पले गरेको यो घोषणाले दुई देशबीच तनाव चर्किएको छ ।
ट्रम्पले लगाएको थप कर अबको २१ दिनमा लागू हुने बताइएको छ । चीनले पनि रुसबाट तेल किनिरहेको भए पनि ट्रम्पले चीनको नाम उच्चारण गरेनन् । तर पछि भने उनले चीनमाथि पनि यस्तै कर लाग्नसक्ने चेतावनी दिए । उनले भने अहिले नै त बताउन नसक्ने तर भारतलाई लगाएजस्तै कर चीनमाथि पनि हुन सक्ने बताए ।
ट्रम्पको यो घोषणाले भारतको ठूलो निर्यात बजार अमेरिकामा हुने निर्यात प्रभावित हुन सक्ने देखिएको छ । सन् २०२४ मा भारतले अमेरिकालाई कुल ८७ अर्ब अमेरिकी डलरबराबरको निर्यात गरेको थियो । थपिएको करले भारतबाट अमेरिका निर्यात हुने कपडा, जुत्ता, रत्न तथा गरगहनाजस्ता वस्तु बढी प्रभावित हुनेछन् ।
भारतलाई लगाएजस्तै गरी अमेरिकाले पहिले नै ब्राजिललाई पनि ५० प्रतिशत आयात कर लगाइसकेको छ । हालै ट्रम्पले भारतीय अर्थव्यवस्थालाई “मृत” र व्यापार अवरोधलाई “घृणित” भनेका थिए । उनले भारतमाथि रुसँग सस्तोमा तेल किनेर महँगोमा बेची नाफा कुम्ल्याएको आरोपसमेत लगाएका थिए ।
भारतको विदेश मन्त्रालयले कर थोपर्ने ट्रम्पको घोषणालगत्तै उक्त घोषणा “अन्यायपूर्ण, आधारहीन र तर्कहीन” भएको प्रतिक्रिया दिएको छ । मन्त्रालयले विश्वका अरू धेरै देशहरूले पनि रुसबाट तेल आयात गरिरहेको पनि उल्लेख गरेको छ ।
भारतको चीनसँग गठबन्धन बन्नसक्ने संकेत
यसबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ७ वर्षपछि फेरि चीन भ्रमणमा जान लागेका छन। उनी चीनको तिआनजिन शहरमा आयोजना हुने सुरक्षा सम्मेलनमा सहभागी हुने बताइएको छ ।
विश्लेषकहरूका अनुसार मोदीको अब हुन लागेको चीन भ्रमणले भारत-चीन सम्बन्धमा केही सहजता आउन र अमेरिकासँग बिग्रँदै गएको सम्बन्धबीच चीनसँग नयाँ गठबन्धन हुनसक्ने सम्भावना संकेत गरेको छ । रुसी अधिकारीहरू पनि उक्त सम्मेलनमा सहभागी हुने छन् ।