नेपालगञ्ज : उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले कर्णाली विकास बैंकको अनियमितता प्रकरणमा बैंकका संस्थापक अध्यक्षसहित ३ जनालाई पुर्पक्षका लागि कारागार पठाएको छ । अदालतका न्यायाधीशद्वय चन्द्रबहादुर सारू र पुनमसिंह चन्दको इजलासले बैंकको अनियमितता प्रकरणमा बुधवार यस्तो आदेश सुनाएको हो ।
अदालतले बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय, पूर्वअध्यक्ष पशुपतिदयाल मिश्र, बैंकका वित्त विभाग प्रमुख वेदप्रकाश सिंह ठकुरीलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो । अदालतले उनीहरूलाई तत्काल रिहा गरेमा मुद्दा नै प्रभावित पार्न सक्ने आँकलन गरेर थुनामै राख्ने आदेश सुनाएको बताइएको छ ।
यसैगरी उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले अनियमिततामा संलग्न नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेतलाई २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको भए पनि उनले धरौटी बुझाउन नसकेकाले तत्काल कारागार चलान भएका छन् । धरौटी बुझाएमा उनी रिहा हुनेछन् ।
अदालतले यो प्रकरणमा संलग्न तर फरार रहेका १०० जनाभन्दा बढी प्रतिवादीलाई म्याद तामेली पठाउन पनि आदेश दिएको छ ।
बैंकको ३ अर्ब २० करोड रुपैयाँ अनियमितता प्रकरणमा १०९ जनालाई प्रतिवादी बनाइएको थियो‚ तीमध्ये १०३ जना अझै फरार रहेका छन् । सीआईबीले बैंकमा आर्थिक अनियमितता भएको आफ्नो अनुसन्धान प्रतिवेदनमा साउन १४ गते जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको थियो ।
सीआईबीले बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर रायसहित १०९ जनाबाट ३ अर्ब २० करोड ११ लाख ५४ हजार १५७ रुपैयाँ बिगो मागदावीसहित मुद्दा दायर गर्न सुझाएको सो अनुसन्धान प्रतिवेदनका आधारमा नै उच्च अदालत तुलसीपुर नेपालगञ्जमा मुद्दा दायर गरिएको थियो ।
४ जना प्रतिवादीमध्ये बैंकका संस्थापक अध्यक्षसमेत रहेका राजेन्द्रवीर रायसँग २ अर्ब ६३ करोड ३२ लाख १६ हजार ५९७ रुपैयाँ बिगो र जरिवाना मागदावी गरिएको थियो । बैंकका पूर्वअध्यक्ष पशुपतिदयाल मिश्रसँग ८२ करोड ४६ लाख २९ हजार बिगो र जरिवाना मागदावी गरिएको थियो । उनी नेकपा एमालेका केन्द्रीय सदस्यसमेत हुन् । बैंकको केन्द्रीय कार्यालय नेपालगञ्जमा रहेको छ ।