काठमाडौँ : घरपालुवा पशुचौपायामा लाग्ने रोग ‘लम्पी स्किन’ का कारण देशभर ८४६ पशुचौपायाको मृत्यु भएको पशुसेवा विभागले जनाएको छ ।
विभागका अनुसार लम्पी स्किनको संक्रमण देशका ६ प्रदेशका २९ जिल्लामा फैलिएको छ । देशभरका २७ हजार ४२५ पशुचौपाया यसबाट संक्रमित भएका छन् । सुदूरपश्चिममा भने अहिलेसम्म रोगको पुष्टि भइनसकेको विभागले जनाएको छ ।
विभागका अनुसार लम्पी स्किन कोशी, बागमती, लुम्बिनी, मधेश, कर्णाली र गण्डकी प्रदेशमा फैलिएको छ । यसबाट कोशी प्रदेशका पशुचौपाया सर्वाधिक प्रभावित भएका छन् । विभागले सार्वजनिक गरेको विवरणअनुसार गत असार ६ गतेदेखि यही साउन २० गतेसम्म कोशी प्रदेशका ११ जिल्लामा संक्रमण फैलिएको छ । विभागका अनुसार यसबाट कोशीका २२ हजार १२२ पशुचौपाया संक्रमित भएको र ६३७ को मृत्यु भएको छ ।
विभागको विवरणअनुसार लम्पी स्किनको संक्रमण मधेशका ८ जिल्लामा, गण्डकी र कर्णालीको १/१ जिल्लामा, वागमतीको ५ जिल्लामा र लुम्बिनीका ३ जिल्लामा फैलिएको छ ।
यसैगरी यसबाट मधेशमा १७९ पशुको मरेका छन् भने ४ हजार ४९२ संक्रमित भएका छन् । वागमतीमा यसबाट ३० पशु मरेका छन् र ७९३ पशु संक्रमित छन् । विभागका अनुसार लुम्बिनीमा १६ र गण्डकीमा ७ पशु संक्रमित भएका छन् ।
विभागका अनुसार यी ६ प्रदेशका कुल ५ लाख ६१ हजार ७५१ पशुचौपायालाई लम्पी स्किनविरुद्धको खोप लगाइएको छ ।