काठमाडौँ, २० साउन : दाङ, बर्दिया र बाँकेमा पछिल्लो समयमा अति भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा दाङको जलकुण्डी मापन केन्द्रमा सबैभन्दा बढी २२७ मिलिमिटर वर्षा भएको छ ।
यस्तै बाँकेको सिक्टामा पनि २०० मिलिमिटर वर्षा भएको छ । यस्तै बर्दियाको मानपुरमा १६७ मिलिमिटर वर्षा भएको छ । बाँके र दाङमा अति भारी वर्षा हो भने बर्दियामा धेरै भारी वर्षा भएको छ । दाङमा पछिल्लो एक घण्टामै २५ मिलिमिटरभन्दा बढी वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार आज दिउँसो र राती पश्चिम नेपालमा बढी वर्षा हुने जानकारी दिनुभयो । यद्यपि अन्य प्रदेशका एकदुई स्थानमा पनि भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ ।
वर्षा गराउने सानो प्रणाली बनेको भएर आज दिउँसो र रातिमा पश्चिम क्षेत्रमा बढी पानी पर्ने उहाँले बताउनुभयो । यद्यपि मनसुन न्युन चापीय प्रणालीको असर भने नेपालभरी नै रहेको छ । जसका कारण अझै केही दिन मनसुन सक्रिय भइरहने छ ।
पछिल्लो ६ घण्टामा मात्रै पनि दाङ जिल्लाको तुलसीपुर, अम्बापुर, जलकुन्डी, बाँके जिल्लाको पश्चिम राप्ती, सिक्टा, बर्दिया जिल्लाको मानपुर वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा भारी वर्षा भएको छ ।
सो क्षेत्र भइ बहने बबई नदी , पश्चिम राप्ती नदी , डुडुवा खोलालगायत अन्य स–साना खोलाहरुमा आकस्मिक बाढीको तथा होचो भू–भागमा डुवानको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले सबैलाई अनुरोध गरेको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ ।
देशभर अधिकांश बदली रहेको छ । लुम्बिनी प्रदेशका अधिकांश स्थानहरुमा, मधेश प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरुमा साथै कोशी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ ।
आगामी २४ घण्टामा लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । आगामी केही दिन मधेश प्रदेशलगायत देशभर मनसुन सक्रिय रहिरहने देखिएको महाशाखाले जनाएको छ ।