म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदीबाट विद्युत् उत्पादन गर्न जलविद्युत् आयोजना निर्माण शुरु भएको छ । कालीगण्डकी नदीमा निर्माण हुन लागेको यो पहिलो आयोजना हो ।
हाइड्रो सपोर्ट कम्पनीले ६६ दशमलव ३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत् आयोजना निर्माण थालेको हो । सिभिल ठेकेदार रसुवा–मल्टी जेभीले अन्नपूर्ण गाउँपालिका–२ नागढुङ्गामा विस्फोटक पदार्थको प्रयोग गरेर गत हप्तादेखि ४ हजार ३१९ मीटर लामो सुरुङ निर्माण शुरु गरेको हाइड्रो सपोर्टका सञ्चालक चन्द्र ढकालले बताए ।
अडिटको दूरी ४५९ मीटर छ । बाँधतर्फबाट यही साउन महिनाभित्र र आउटलेटबाट हिउँददेखि सुरुङ खन्ने तयारी भएको छ । अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरमा १२ मीटर अग्लो र ३५ मीटर लामो बाँध बनाइ ल्याउने पानी १५१ मीटर उचाइबाट अन्नपूर्ण–२ नौनीबगरमा निर्माण हुने भूमिगत विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गर्ने लक्ष्य छ ।
रन अफ दर रिभर प्रकृतिको यस आयोजनाको विद्युत्गृह, स्विचार्ड, कन्ट्रोल रुम जमिनभित्र भूमिगत हुन्छ । रसुवा–मल्टी जेभीका प्रमुख कार्यकारी अधिकृत फणिन्द्रराज पाण्डेले सुरुङ निर्माणका लागि अत्याधुनिक बुमर रोवोटिक सटकिटलगायत उपकरण ल्याएको बताए ।
मध्य कालीगण्डकीको विद्युत् नौनीबगरदेखि ७ किलोमीटरमाथि दानामा रहेको २२० केभी क्षमताको सबस्टेशनमार्फत केन्द्रीय प्रणालीमा आबद्ध हुनेछ् । आगामी भ वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको हाइड्रो सपोर्टका सञ्चालक ढकालले बताए । कूल रु १२ अर्ब ९३ करोड लागत अनुमान गरिएको यस आयोजनामा नबिल बैंक लिमिटेडको नेत्तृत्वमा ६ ओटा वाणिज्य बैंकले ७५ प्रतिशत, २५ प्रतिशत प्रर्वद्धक र शेयर लगानीकर्तामार्फत जुटाइने भएको छ ।
नेपाल विद्युत् प्रधिकरणसँग विद्युत् खरीदविक्री सम्झौता हुँदा हिउँदयामको विद्युत् खरिद दर ८ रुपैयाँ ४० पैसा र वर्षायामको दर ४ रुपैयाँ ८० पैसा कायम भएको छ । आयोजनाबाट हिउँदमा १३० गिगावाटबाट रु १ अर्ब ९ करोड र बर्खामा २७७ गिगावाटबाट रु १ अर्ब ३३ करोड आम्दानी हुने प्रक्षेपण छ ।
मध्य कालीगण्डकीसहित कालीगण्डकी नदी बेसिनमा ३ सय मेगावाटभन्दा बढी क्षमताका तीनओटा जलविद्युत् आयोजनाले निर्माणको अनुमति लिएका छन् । ६५ मेगावाटको माथिल्लो कालीगण्डकी, १८० मेगावाटको कालीगण्डकी गर्जले पनि निर्माणको तयारी गरेका अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए ।