काठमाडौँ, १७ साउन : फेरि केही दिन मनसुन सक्रिय भई भारीसम्म वर्षा हुने भएको छ । आज पनि देशभर बदली भई ठाउँठाउँमा वर्षा भएको र यो क्रम भोलि आइतवारदेखि भने झन् बढ्ने भएको हो ।
तराईमा समेत यसपाली वर्षा हुने देखिएको जल तथा मौमि विज्ञान विभागको, मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ अवस्थित रहेको छ । वर्षा हुने प्रणाली सक्रिय भएकाले अबको तीन दिन वर्षाका गतिविधि बढ्ने मौसमविद् कँडेलले बताउनुभयो ।
अहिले कोशी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भईरहेको पनि उहाँले बताउनुभयो । महाशाखाले राति कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाएको छ ।
यस्तै आगामी केही दिन मधेश प्रदेशलगायत देशभर मनसुन थप सक्रिय हुने देखिएकोले सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा पछिल्लो मौसमी सूचनाको जानकारी लिन महाशाखाले आज साँझ बुलेटिनमार्फत सार्वजनकि अनुरोध गरेको छ ।
तराई क्षेत्रमा आइतवार राती भने साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यमदेखि भारी वर्षा हुने जनाइएको छ ।
आइतवार कोशी सुदुरपीश्चम र लुम्बिनी प्रदेशका केही ठाउँमा भारी वर्षा समेत हुने छ । सोमवार कोशी ,मधेशप्रदेश लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही क्षेत्रमा भारी वर्षा हुने जनाइएको छ ।
पछिल्लो ६ घण्टामा सिन्धुपाल्चोकको गोब्रेमा ८२.८ मिलिमिटर वर्षा भएको छ । यस्तै अर्घाखाँचीमा ७२.५, दाङको पदमपुरमा ७२.२ मिडिमिटर पानी परेको छ । अन्य धेरै ठाउँमा हल्कादेखि मध्यम पानी परेको छ । तराईमा पनि मध्याम वर्षा भएको छ ।