काठमाडौँ, १७ साउन : काठमाडौँमा आपराधिक क्रियाकलापविरुद्धको अभियान नरोकिने प्रहरीले स्पष्ट पारेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले गुण्डाहरुको गतिविधि निस्तेज पार्न काठमाडौँभरी नै अपरेशन जारी रहेको बताउनुभयो ।
“गुण्डाहरुले टाउको उठाउने ठाउँ पाउने छैनन्, हाम्रो अपरेशन जारी छ, काठमाडौँमा यस्ता अवाञ्छित गतिविधि गरेकाहरुको नामावली संकलन भइसकेको छ, खोजीखोजी कारबाहीको दायरामा ल्याईँदै छ”, अधिकारीले रासससँग भन्नुभयो ।
उक्त अभियान अन्तरगत प्रहरीले हिजो शुक्रबार काठमाडौँको महराजगञ्जस्थित होटेल साम्बालाबाट ४७ जनालाई पक्राउ गरेको थियो ।
पक्राउ परेका ४७ जनामध्ये चक्रे मिलन भनिने मिलन गुरुङसहित १९ जनामाथि सार्वजनिक हित विपरित गतिविधि गरेको कसुरमा मुद्दा दर्ता गरी ७ दिनको म्याद थपेर अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
अन्य बाँकी २८ जनालाई भने प्रहरीमा हाजीर हुने गरी छाडिएको र उनीहरुमाथि पनि अनुसन्धान भने जारी रहेको उहाँले बताउनुभयो ।
अधिकारीले रासससँग भन्नुभयो, “१९ जनाविरुद्ध अन्य उजुरीहरु आउनसक्ने भएकाले जो कोहीले पनि उजुरी दिन सक्नुहुन्छ, उनीहरु अन्य केके अपराधमा संलग्न छन् भनेर पनि खोजी भइरहेको छ । छाडिएकाहरुको हकमा पनि अनुसन्धान जारी नै छ ।”
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको सहयोगमा काठमाडौँमा आपराधिक गतिविधिविरुद्धको अपरेशन जारी रहेको प्रहरीले जनाएको छ ।