काठमाडौँ, १६ साउन : विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले विपद् व्यवस्थापनका लागि आपसी सहकार्य र समन्वयमा जोड दिनुभएको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा आज आयोजित अन्तरक्रियामा सहभागी राजनीतिक दलका प्रतिनिधिहरुले विपद् व्यवस्थापन कार्यमा सुरक्षा निकायसँगको सहकार्य र समन्वय बढाउनुपर्ने बताउनुभएको छ ।
नेकपा एकिकृत समाजवादी बाग्मती प्रदेश सांसद तथा सो पार्टीका विपद् व्यवस्थापन विभाग प्रमुख डा. राजेन्द्रमान श्रेष्ठले नेपाल विपद्को उच्च जोखिममा रहेको हुँदा विपद् सम्बन्धी सचेतना कार्यक्रमहरुलाई बिशेष जोड दिनुपर्ने तथा क्षति न्यूनीकरण कसरी गर्ने भन्ने कुरामा पूर्व तयारी जरुरी रहेको बताउनुभयो ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका बाग्मती प्रदेश सांसद तथा सो पार्टीका विपद् व्यवस्थापन विभाग प्रमुख उद्धव थापाले विपद् उद्धारमा सशस्त्र प्रहरी बल नेपालले देखाएको उच्च साहसले आम जनतामा सशस्त्र प्रहरी बलको उच्च मूल्यांकन रहेको बताउँदैै विपद् उद्धारमा सुरक्षा निकाय तथा राजनीतिक पार्टीहरुको संयुक्त प्रयासमा जोड दिनुभयो ।
नेपाली कांग्रेस वातावरण तथा जलवायु परिवर्तन सरोकार विभाग प्रमुख कल्याण गुरुङ्गले विपद् न्यूनिकरणको लागि समुदायस्तरमा दिइने स्वयंसेवक तालिम प्रभावकारी हुने, स्थानीय तहमा साना दराजमा विपद्का प्राथमिक सामाग्री राख्न जरुरी रहेको तथा प्रत्येक वडामा कम्तीमा १ सय जना जनशक्तिलाई विपद् व्यवस्थापन तालिम दिन आवश्यक रहेको बताउनुभयो ।
नेकपा एमालेका वातावरण विभाग प्रमुख खिमलाल भट्टराईले विपद्मा पूर्व सूचना महत्वपूर्ण हुने भएकोले पूर्व जानकारी दिन सकेमा जनधनको क्षति न्यूनिकरण गर्न सकिने बताउनुभयो ।
पूर्व सूचनामा केन्द्रित हुन जरुरी रहेको बताउनुहुँदै उहाँले विपद्पछि उद्धार कार्यमा पहिलो उद्धारक स्थानीय व्यक्तिहरुको भूमिका महत्वपूर्ण हुने हुँदा स्थानीयस्तरमा स्वयंसेवक उत्पादनको लागि सशस्त्र प्रहरी बल नेपालले गरेको कार्य स्वागत योग्य रहेको बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका वातावरण विभागका नारायण काफ्लेले विपद् व्यवस्थापन जोखिम न्यूनिकरण तथा रोकथामको लागि स्थानीय संरचना बलियो बनाउन जरुरी रहेकोमा जोड दिनुभयो ।
उहाँले सुरक्षाकर्मीलाई थप आवश्यक उपकरण उपलब्ध गराई उच्च मनोवलकासाथ अझ प्रभावकारी परिचालन गर्न सकिने बताउनुभयो । कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका विपद् व्यवस्थापन विभाग प्रमुख विष्णुकुमार श्रेष्ठले सिमित श्रोतसाधनका वावजुद सशस्त्र प्रहरी बलले गरेको उद्धार कार्य प्रशंसनिय रहेको बताउनुभयो ।
जनमत पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले न्यूनतम श्रोतसाधनका वावजुद पनि उच्च मनोवलले उद्धार कार्य प्रभावकारी हुनेमा जोड दिनुभयो ।
जसपा नेपालका माधवप्रसाद देवले प्राकृतिक प्रकोप घटना न्यूनिकरणको लागि नीतिगत सुधारको जरुरी रहेको बताउनुहुँदै अव्यवस्थित विकास निर्माणलाई व्यवस्थित गर्नुपर्ने र मानवीय विकासले समेत विनाश निम्त्याएकोतर्फ सचेत हुन जरुरी रहेको उल्लेख गर्नुभयो ।
लोकतान्त्रीक समाजवादी पार्टीका वातावरण विभागका प्रमुख लक्ष्मणलाल कर्णले हिमालमा हिम पहिरो, पहाडमा पहिरो तथा बाढी र मधेशमा सुख्खा तथा खानेपानीको अभाव जस्ता ठाउँ अनुसारका विपद् आईपर्ने भएकोले त्यही किसिमको तयारी जरुरी रहेको बताउनुभयो ।
क्रममा सशस्त्र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले समुदायलाई समेत सचेत तथा सहभागी गराउँदा विपद् जोखिम न्यूनीकरण प्रभावकारी हुने उल्लेख गर्नुभयो ।
उहाँले समुदायसँगको समन्वय तथा सहकार्यमा विपद् जोखिम न्यूनिकरण गर्न सकिने बताउनुहुँदै विपद्बाट हुने धनजनको क्षति कम गर्न राजनैतिक दलको भूमिका समेत समुदायस्तरमा महत्वपूर्ण हुने बताउनुभयो
सशस्त्रको कार्य विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले स्थानीय तहसँग समेत समन्वय गरेर विपद् व्यवस्थापन कार्य गरिरहेको बताउनुहुँदै समुदायलाई सचेत गराउने कार्यमा राजनीतिक दलसँगको समन्वय सहकार्य पनि उत्तिकै महत्वपूर्ण हुने बताउनुभयो ।
सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगविजय सुवेदीले विपद् व्यवस्थापन कार्यमा सशस्त्र प्रहरी बल नेपालको क्षमता, हाल उपलब्ध साधनश्रोत, जनशक्ति तथा विभिन्न घटनामा गरिएका उद्धार बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।