काठमाडौँ, १६ साउन : नेकपा (एमाले) का उपमहासचिव, पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पछिल्लो समयमा मूलधारका मिडियासामु न्युमिडियाले चुनौती खडा गरिरहेको बताउनुभएको छ ।
काठमाडौँको बनस्थलीमा आज मिडिया ठाँटीको दोस्रो वार्षिकोत्सव समारोहमा उपमहासचिव ज्ञवालीले मूलधारका मिडियाभन्दा सामाजिक सञ्जाल लगायतका मिडियाहरु प्रभावकारी र शक्तिशाली बन्दै आएको प्रतिक्रिया दिनुभयो ।
“पहिले समाचारका लागि पत्रपत्रिका कुर्नपर्ने अवस्था थियो, तर अहिले समाधारका लागि पत्रिकाहरु कुरिरहनुपर्दैन”, नेता ज्ञवालीले भन्नुभयो, “त्यो पनि तपाईंको आफ्नै हातहातबाट समाचारहरु प्राप्त गर्न सकिन्छ ।”
उहाँले कुनै बेला संगठित मिडिया प्रभावकारी रहेको र पत्रिकाहरुको सर्कुलेसन ४, ५ लाख रहेको सन्दर्भ जोड्दै अहिले अन्य मिडियाहरु प्रभावकारी रहेको बताउनुभयो ।
उहाँले अब मिडियाहरु विश्वसनीय बनाउन जरुरी रहेको पनि बताउनुभयो । छिटो गर्ने दौडमा दुर्घटना भइरहेको बताउँदै उहाँले भन्नुभयो, “छिटो गर्ने दौडमा सत्य ओझेलमा परिरहेको छ । प्रस्तुति पनि फ्याक्ट भयो भने मात्रै विश्वसनीय बन्छ, हतारोले धेरै दुर्घटना भएको छ ।”
नेता ज्ञवालीले अहिले अर्थतन्त्र शिथिल भइरहेको उल्लेख गर्दै यस्तो अवस्थामा मिडिया बचाउन पनि चुनौती रहेको उल्लेख गर्नुभयो ।
पछिल्लो समयमा नोपाल प्रगतितर्फ उन्मुख भइरहेको दावी गर्दै नेता ज्ञवालीले गलत क्रियाकलापविरुद्ध पनि सरकार गम्भीर रहेको बताउनुभयो । उहाँले भ्रष्टाचार भइरहेको र भ्रष्टाचार गर्नेहरु कारबाहीमा पनि परिरहेको बताउँदै भ्रष्टाचार भयो मात्रै भनेर नहुने कारबाही गरिएको कुरालाई पनि मिडियाले उच्च प्राथमिता दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा पूर्वराजदूत महेश दाहालले देशलाई सकारात्मक दिशामा अघि बढाउन मिडियाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
कार्यक्रममा नेपाल चेम्बरअफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले अर्थतन्त्र विषम परिस्थितिमा रहेको अवस्थामा मिडियाले सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले अहिलेको सरकार अर्थतन्त्र सुधारका लागि धेरै प्रयत्नरत रहेको र सोही अनुसार मौद्रिक नीति आइरहेको जानकारी गराउनुभयो ।