–नारायण ढुङ्गाना,
काठमाडौँ, १० साउन : काठमाडौँको चन्द्रागिरि नगरपालिका–५ भूजिङडोलमा १०८ वटा शिवलिङ्ग १०८ वटा नागसहित विश्राम गरिरहेका महादेव छन् । विश्राम गरिरहेका महादेवको शिरमा सातमुखे नागले सुरक्षा दिइरहेको आकृति निक्कै सुन्दर देखिन्छ ।
जुन १०८ शिवलिङ्ग, १०८ नाग र विश्राम गरिरहेका महादेव र शिरको सुरक्षा दिइरहेको सात मुखे नाग एउटै ढुङ्गामा बनाइएको हो । छेवैमा साँढे र यज्ञ कुण्ड छ । नजिकै पण्डितहरु पूजा पाठमा व्यस्त हुनुहुन्छ । अगाडि धार्मिक व्यक्तिहरु कथा श्रवण गरिरहनुभएको छ । यहाँ अहिले विश्रामेश्वर महादेवको मूति स्थापनासँगै धार्मिक गतिविधि चलायमान भएको छ । पण्डित बालकृष्ण अर्यालले कथावाचन गरिरहनुभएको छ ।
https://www.facebook.com/samriddhisanchar/videos/609508548519053
“गाउँमै धार्मिक आयाम थपिएको छ”, विश्वविश्रामेश्वर एकसय ९ शिवलिङ्ग विश्वधाम मन्दिर निर्माण तथा संरक्षण समितिका अध्यक्ष श्यामलाल श्रेष्ठ भन्नुहुन्छ, “कतिपयले एउटै ढुङ्गा होइन होला?, जोडेको होला भन्ने शंका गर्छन् तर होइन म आफैँ गएर धादिङको जुङ्गे खोलामाथिबाट ल्याइएको एउटै ढुंगाबाट मूर्तिकारले यो आकृतिमा ढालेका हुन् ।”
सात वटा तहमा बनाइएको शिवलिङ्गको हरेक तहमा १०८ वटा नाग पनि बनाइएको छ । र विश्रामेश्वर महादेवको शिरमा सात मुखे नाग राखिएको छ । सो ठाउँमा नागस्थान पनि रहेकाले नागसहितको शिवलिङ्ग र विश्रामेश्वर महादेव बनाइएको हो । हेर्दा उक्त मूर्ति निक्कै आकर्षक छ ।
समितिका अध्यक्ष श्रेष्ठले बुबा धनलाल श्रेष्ठ र आमा न्हुच्छेमायाको चाहनाबाट निजीप्रयासमा यो मूर्ति बनाइएको र यहाँ आकर्षक मन्दिर निर्माणको क्रम जारी रहेको बताउनुभयो ।
यहाँ अहिलेसम्म उहाँहरुको निजी लगानी रहेको छ । अब मन्दिर निर्माणलगायत कार्यमा स्वइच्छिक सहयोग गर्न सकिने श्रेष्ठले बताउनुभयो । यहाँ रु ३० हजार १०५ सहयोग गर्नुहुनेको नाममा एउटा शिवलिङ र आजिवन सदस्य रहने तथा तीन पुस्ताको नाम शिलापत्रका राखिने जनाइएको छ ।
अहिले यहाँ शिवपुराण ज्ञान महायज्ञ चलिरहेको छ । महायज्ञका संयोजक ध्रुवकुमार घिमिरे यो गोसाईंकुण्डमा विश्राम गरिरहेका महादेवलाई यहाँ स्थापना गरिएको बताउनुहुन्छ ।
“यो १०८ शिवलिङ्गसहितको विश्वविश्रामेश्वर महादेव कहीँ पनि छैन, त्यसैले यो एकदम नयाँ र हेर्न लायक मूर्ति स्थापना गरिएको छ, उहाँ गोसाङकुण्डको जलमा शयन गरिरहनुभएका महादेव हुनुहुन्छ”, घिमिरेले भन्नुभयो, गोसाईं स्नान गर्ने बेलामा एक मन एक दृष्टि गरेर हेर्दा महादेव सुतेको देखिन्छ, त्यसैको स्वरुप यहाँ बनाइएको हो ।”
मुख्य गरी धार्मिक पर्यटन प्रवद्र्धन गर्न उद्देश्य रहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
यसकारण बन्यो विश्रामेश्वर महादेव
श्यामलाल श्रेष्ठका अनुसार यहाँ सुन्दर विश्रामेश्वर महादेव र मन्दिर निर्माण गर्नुमा विशेष कारण रहेको छ ।
उहाँका बुबा धनलालले सपनामा यहाँ भगवान शिवलाई सुतेको देखिरहनुहुन्थ्यो । त्यसकारण उहाँले यहाँ मन्दिर बनाउन अनुरोध गर्नु भएको थियो । उहाँको निधनपछि आमा न्हुच्छेमायालाई पनि त्यही दृष्य झल्झली आइरहयो । भर्खरै ८४ गरिएकी न्हुच्छेमायाले पनि मन्दिर बनाउन छोराहरुलाई अनुरोध गर्नुभयो ।
आमा र बुबाकै चाहना भएपछि जसो गरेर भए पनि आफूले मन्दिर बनाउनै पर्ने अवस्था आएपछि आफ्नै आमाको नाममा रहेको जग्गामा मन्दिर निर्माण थालिएको श्यामलालले बताउनुभयो ।
त्यसका लागि गएको वर्षदेखि नै उहाँले ढुङ्गा खोज्न थाल्नुभयो । धेरै ठाउँमा खोज्दा पाउनुभएन । कतिपय खानीहरुलाई ठूलो ढुङ्गा भए खबर पाउँ भनेर अनुरोध गरेका थिए । खानीका मजदुरहरुले जुङ्गे खोलामा रहेको सूचना दिएपछि कलाकार काजी लामालाई सँगै लिएर श्यामलाल जानुभयो । कलाकारले हुन्छ भनेपछि त्यही ढुङ्गामा कला भरेर १०८ नाग र शिवलिङ्गसहितको विश्रामेश्वर महादेव निर्माण गरिएको उहाँले सुनाउनुभयो ।
“सुरुमा उक्त ढुङ्गो साढे ३२ हजार किलोको थियो । पछि कुँदेर विश्रामेश्वर महावेदसहितको सुन्दर आकृतिमा ढाल्दा २२ हजार किलोको भएको उहाँले सुनाउनुभयो । दुई वटा एक्साभेटरले उचाल्न नसकेपछि खनेर गाडीलाई जमिनको तहमा राख्यौँ र ठेलेर गाडीमा हाल्यौँ, गत माघ १२ गते यसरी ढुंगा ल्याइएको हो”, श्यामलालले सुनाउनुभयो ।

कलाकार लामाले ६ महिना लगाएर उक्त मूर्ति तयार पार्नुभएको हो । त्यसका लागि श्यामलालले रु ३७ लाख कलाकारका लागि पारिश्रमिक दिनुभएको छ । झण्डै ७ लाख जति ढुंगा यहाँसम्म ल्याउन खर्च लागेको उहाँको भनाई छ ।
तरकारी ओसारपसारको व्यवसाय गर्ने श्यामलालले आमाको जीउनीबाट आएको पैसा र त्यसमा थप आफूले पनि लगानी गरेर मूर्तिसहतिको मन्दिर निर्माण भइरहेको र अहिलेसम्म कतैबाट एक रुपैयाँ पनि सहयोग नभएको बताउनुभयो ।
मन्दिरका लागि झण्डै ७५ लाख पर्ने डेढ आना जग्गा दान गर्नुभएको छ । अझै केही ठाउँ चाहिने अवस्थामा थप जग्गा पनि दिने सोचमा उहाँ हुनुहुन्छ । मन्दिर बनाएर अक्षयकोष स्थापनाको संकल्प पनि उहाँको छ ।
मन्दिरमा २५ खोपा छन्, त्यहाँ अन्य देवी देवताका मूर्ति पनि राख्ने योजना छ । कृष्ण, सप्तऋषि, लक्ष्मी, राम, सरस्वतीका मूर्ति पनि राखिने उहाँले बताउनुभयो ।
गणेश, कुमार र पञ्चाङ्गको मूर्ति राखिसकिएको छ । उहाँले हरेक चाडपर्वमा यहाँ पुजा, आजा र आरती गर्ने सोचका साथ विश्रामेश्वर महादेवको मन्दिर बनाइएको बताउनुभयो ।
सुन्दर मूर्ति बनाइएको र महायज्ञ सुरु भएपछि यहाँ चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरिले भ्रमण गर्नुभएको छ । सो क्रममा उहाँले चन्द्रागिरिमा धेरै मठमन्दिरहरु भालेश्वर, विष्णु, मच्छेनारायण, मातातिर्थ रहेको र त्यसमा यो अर्काे नयाँ मन्दिर थपिएकोमा यसलाई नगरपालिकाले पनि हेर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
स्थानीय छिमेकी विष्णुप्रसाद लामिछाने आफ्नो टोल छिमेकमा नयाँ मन्दिर निर्माण भएकाले खुसी लागेको बताउँदै अब यहाँ धार्मिक पर्यटन प्रवद्र्धन हुने विश्वास व्यक्त गनुृभयो । आफूले पनि मन्दिरलाई सक्दो सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।