काठमाडौँ, ८ साउन : नेपाल प्रहरीले चलाउने एक मात्र रेडियो मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्ज आजदेखि १४ वर्षमा प्रवेश गरेको छ ।
आज काठमाडौँमा १३औँ वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले एफएमलाई सामाजिक तथा ट्राफिक सचेतनाका कार्यक्रमलाई परिस्कृति गर्दै अघि बढ्न सुझाव दिनुभयो ।
उहाँले विविध चुनौतीका बीच १३ वर्ष पार गरेको मेट्रो ट्राफिक एफएमले प्रविधिको भरपुर उपयोग गर्दै सूचनाहरु धेरैभन्दा धेरै नागरिकमाझ पुर्याउन जरुरी रहेको बताउनुभयो । एक हजार वाट क्षमतामा प्रशारण हुँदै आएको उक्त एफएमले अहिले विहान ५ बजेदेखि राति १० बजेसम्म सेवा प्रदान गर्दै आइरहेको छ ।
सो क्रममा नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले ट्राफिक सचेतनाका लागि उक्त एफएम महत्वपूर्ण रहेको र यसले आफ्नो सेवालाई प्रविधिमार्फत पनि प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । अहिले अनलाइन र सामाजिक सञ्जालको उपयोग बढिरहेकाले त्यसमार्फत सूचना प्रवाह गर्न उहाँले सुझाव दिनुभयो ।
वार्षिकोत्सव समारोहमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले यातायात क्षेत्रमा एफएम रेडियोको महत्व बढी रहेको उल्लेख गर्दै ट्राफिक सचेतनाका कार्यक्रम चालक तथा आमनागरिकमा पुर्याउन जरुरी रहेको उल्लेख गर्नुभयो ।
उहाँले ट्राफिक प्रहरीसँग सहकार्य गरेर यसको बढी भन्दा बढी उपयोग कसरी गर्न सकिन्छ भन्नेमा ध्यान दिने पनि बताउनुभयो ।
उक्त एफएमका प्रथम स्टेशन म्यानेजर पूर्वप्रहरी उपरीक्षक पवनकुमार गिरीले सुरुवाती दिनमा निक्कै चुनौतीपूर्ण र संघर्षका साथ एफएम स्थापना गरिएको स्मरण गर्दै अहिले व्यवसायिक बन्दै गएकोमा खुसी व्यक्त गर्नुभयो । अझै परिस्कृति गर्दै लैजान उहाँले सुझाव दिनुभयो ।
हालका स्टेशन म्यानेजर प्रहरी नायब उपरीक्षक अमरेन्द्रप्रसाद सिंहले सुरक्षा निकायबाट सञ्चालिक एकमात्र रेडियोले सामाजिक तथा ट्राफिक सन्देश प्रवाह गर्दै आएको र आगामी दिनमा अझै सेवा थप प्रभावकारी बनाउने विश्वास दिलाउनुभयो ।
उक्त एफएम व्यवस्थापन समितिका अध्यक्ष, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले एफएममार्फत सचेतनामूलक, सडक ट्राफिकसम्बन्धी जानकारी, नागरिक प्रहरी सहकार्यका कार्यक्रमसहित नवीन कार्यक्रम सञ्चालन गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्रका डा. गोविन्द थापा, सडक बोर्ड नेपालका कार्यकारी निर्देशक गणेश केसीलागयतले एफएमको प्रगतिको शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा एफएमलाई सहयोग गर्र्ने विभिन्न व्यक्तिका साथै कर्मचारी तथा उपत्यकामा उत्कृष्ट सेवा गर्ने ट्राफिक प्रहरीलाई सम्मान गरिएको थियो ।