काठमाडौँ, ८ साउन : भारतमा आकर्षक तलबको लोभ देखाएर मानब बेचबिखनमा संलग्न २ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ ।
मानब बेचबिखन अनुसन्धान ब्यूरो काठमाडौँका अनुसार यसरी पक्राउ पर्नेमा सिन्धुलीका २४ वर्षीय राजकुमार अच्छामी र सिन्धुपाल्चोकका ४५ वर्षीय रेशमबहादुर खत्री रहेका छन् । उनीहरुलाई अदालतमा पेश गरिएकामा अदालतको आदेशले ५ दिनको म्याद थप गरी थप अनुसन्धान थालिएको ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रतिवादी राजकुमार अच्छामीसमेतका व्यक्तिले जाहेरवालालाई भारतमा चालकको काममा लगाइदिने र खाना बस्नबाहेक नै मासिक तलब ३५ हजार भारु तथा ओभरटाईमसमेत हुन्छ भनि प्रलोभनमा पारेर भारती लगी बन्धक बनाएर बेचबिखन गरेका खुलेको छ ।
उनका अनुसार अनुसन्धानमा पीडितहरुलाई राजकुमारले गएको वैशाख १९ गते काठमाडौँ बल्खुबाट पर्सा वीरगञ्ज पु¥याई रेशमबहादुरलाई हस्तान्तरण गरेका रिसिभ गरेका थिए । त्यहाँबाट उनले अटोरिक्सामा राखी भारतको रक्सौल हुँदै पटना पु¥याए ।
पटनास्थित पुनपुन अजय स्टेशनमा रहेको वेल स्टार डाइनामिक कम्पनीमा प्रतिव्यक्ति १० हजार तिर्न लगाई ७ दिनसम्म तालिमका नाममा बन्धक बनाई शारीरिक तथा मानसिक यातना दिएका अनुसन्धानमा खुलेको पनि प्रवक्ता कुँवरले बताए ।
कुँवरले भन्नुभयोय, “ पटनामा अन्य मानिसहरुलाई समेत फेसबुकमा इन्भाइट गर्न लगाई जाहेरवालालगायत अन्य पीडितलाईसमेत उक्त ठाउँमा घर परिवारसँग सम्पर्क तथा खान बस्न नदिई डर, त्रास, धाक–धम्की दिई फेसबुक मेसेन्जरमा अन्य मानिसहरुसँग समेत नयाँ आइडी बनाई कुरा गर्न लगाएका थिए ।” विभिन्न प्रलोभनमा पारी भारत बोलाई मोबाइलबाट अनलाइन स्क्यामिङका काम गर्न बाध्य बनाएका पाइएको पनि उहाँले बताउनुभयो ।
दुई लाख बराबरको रकम लिई सो रकमको कपडा किन्न लगाई जबरजस्ती कागजसमेत गरी करिब थप २ महिनासम्म बन्धक बनाएका पाइएको छ ।
दुई महिनामा पछि पीति उम्किएर साउन १ गते नेपाल आएका र ब्यूरोमा मानव बेचविखन तथा ओसारपसारअन्तर्गत मानव तस्करी कसूरमा जाहेरी दर्ता गरेका थिए । जाहेरीको अनुसन्धान गरी साउन ५ गते मुद्दा दर्ता गरिएका उनीहरुको खोजतलासका क्रममा राजकुमार अच्छामीलाई काठमाडौँको बल्खुबाट र रेशमबहादुर खत्रीलाई पर्सा पक्राउ गरिएको कुँवरले बताउनुभयो ।
आवश्यक कानुनी प्रक्रिया पुरा गरी काठमाडौँ जिल्ला अदालतमा पेश गरिएकामा उनीहलाई ५ दिनको म्याद थप भई अनुसन्धान चलिरहेको उहाँले बताउनुभयो ।