काठमाडौँ, ७ साउन : राष्ट्रिय युवा किसान सञ्जाल नेपालले १२ बुँदे ‘युवा किसान घोषणापत्र २०८२’ जारी गरेको छ । साउन ५ गतेदेखि ७ गतेसम्म काठमाडौँमा चलेको ‘प्रथम राष्ट्रिय युवा किसान मञ्चः युवा किसान क्याम्पले आज १२ बुँदे घोषणापत्र जारी गरेको हो ।
आज राजधानीमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको घोषणापत्रमा कृषि पेसालाई व्यवसायीकरण, वैज्ञानिकरण, सहकारीकरण र औद्योगिकीकरणमार्फत कृषि क्षेत्रको समग्र विकास, किसानको हक, हित र अधिकारीको सुनिश्चिततालगायतका विषय समेटिएको छ ।
यस्तै घोषणापत्रमा किसानको शोषण गर्ने नवउदारवादी नीति, किसानविरुद्धका बहुराष्ट्रिय नियमहरु र कृषि क्षेत्रमा भएको वैदेशिक हस्तक्षेपको विरोध, किसानहरुको सूचीकरण तथा वर्गीकरणसहित ‘किसान परिचयपत्र’ उपलब्ध, जलवायु परिवर्तनका सिर्जित समस्या, कृषि रसायनहरुको नियन्त्रण, स्थानीय तथा रैथाने ज्ञान सीपको उच्च प्रयोग, किसानहरुको एकता र अग्रगनको पक्षमा दृढ प्रतिबद्धतालगायतका विषय पनि समेटिएका पत्रकारसम्मेलनमा जानकारी गराइएको थियो ।
राष्ट्रिय किसान सञ्जाल नेपाल, राष्ट्रिय कार्यान्वयन समितिले आयोजना गरेको उक्त सम्मेलनपछि जारी गरिएको घोषणापत्र सार्वजनिक कार्यक्रममा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का अध्यक्ष तथा राष्ट्रिय किसान आयोगका प्रथम अध्यक्ष चित्रबहादुर श्रेष्ठले युवाहरुले राखेको विचार नेपाली समाज रुपान्तरणका लागि उपयुक्त हुने बताउनुभयो ।
श्रेष्ठले किसान आन्दोलन उत्तराधिकारीको निर्माण नहुँदा धेरै आन्दोलनहरु दिगो हुन नसकेको बताउनुभयो । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का महासचिव, राष्ट्रिय भूमि आयोगका पूर्वउपाध्यक्ष राष्ट्रिय किसान सञ्जालका संयोजका नहेन्द्र खड्काले किसान संगठनहरु विगतमा अलग–अलग रहेर आन्दोलनहरु गरेको भए पनि कसैले नसुनेको बताउँदै अब साझा आवाज बलियो भएको बताउनुभयो ।
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का उप–महासचिव तथा युवा किसान मञ्चका अध्यक्ष निर्दोष तिमिल्सिनाले नेपालको कृषिलाई नविनतम् ढंगले अगाडि बढाउन जरुरी रहेको बताउनुभयो ।
काठमाडौँको कीर्तिपुरमा सम्पन्न उक्त क्याम्पमा सातवटै प्रदेशका युवा किसानको सहभागिता रहेको थियो ।