काठमाडौँ, ६ साउन : गएको वैशाख १ देखि यही साउन ५ गतेसम्म देशभरका विभिन्न क्षेत्रमा भएका विपदजन्य २ हजार ३२६ घटनामा १०२ जनाले ज्यान गुमाएका छन् ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती विपदमा परेर अझै २० जना हराइरहेका छन् ।
कुल ५१२ जना घाइते भएका छन् भने ४ हजार ३२३ परिवार प्रभावित भएका प्राधिकरणका प्रवक्ता एवं उपसचिव सुरेश सुनारले जानकारी दिनुभयो ।
उहाँका अनुसार मनसुनी विपदसहितका विभिन्न प्रकारका विपदजन्य घटनाबाट यसरी जनधनको क्षति भएको हो ।
उहाँले बाढीका मात्रै १५१ घटनामा १३ जनाको मृत्यु र २० जना बेपत्ता भएका छन् । यो धेरैजसो रसुवा बाढीले क्षति पुर्याएको उहाँले बताउनुभयो ।
यस्तै पहिरोका २०७ घटनामा ९ र भारी वर्षाका १०३ घटनामा २ जनाको मृत्यु भएको छ ।
यस्तै चट्याङका २२९ घटनामा २८, सर्पदंशका ६३ घटनामा ५, आगलागीका ९७६ घटनामा १४ जनाको मृत्यु भएको छ ।
यस्तै हावाहुरीका २७३ घटनामा ८, जनावर आक्रमणका १२१ घटनामा १२, लेक लागेका ३६ घटनामा ११ जनाको मृत्यु भएको पनि उहाँले बताउनुभयो । अन्यमा र वन डढेलोका १५८ वटा घटना, भुकम्पका ४, डुंगा पल्टिएका २, असिना पानीका २ घटना भएको तर मानवीय क्षति नभएको पनि प्राधिकरणले जानकारी दिएको छ ।
ती घटनाबाट सबैभन्दा बढी बाढीले एक हजार २५४ घर प्रभावित बनाएको छ । यस्तै पहिरोले २४१, भारी वर्षाले ५४७, चट्याङले २६४ सर्पदंशले ७० र आगलागीले १ हजार ८९ परिवारलाई प्रभावित बनाएको पनि प्राधिकरणले जानकारी दिएको छ ।
यस्तै वन डढेलोबाट २७, हावाहुरीबाट ५३१, जनावरको आक्रमणबाट १८६, लेक लागेर ३२, डुंगा पल्टिएर ५, असिना पानी र हुुरीबाट ७७ परिवार प्रभावित भएको प्राधिकरणको विवरणमा उल्लेख छ ।