काठमाडौँ, ५ साउन : गायक स्व. अरुण थापा मगरको २६औँ स्मृति दिवसका अवसरमा उहाँको सम्झनामा स्थापना गरिएको अरुण स्मृति सङ्गीत पुरस्कार यसपटक संविधानसभा सदस्य केशरी घर्ती मगरलाई प्रदान गरिएको छ ।
नेपाल मगर विद्यार्थी संघले साँस्कृतिक सँस्थानसँगको सहकार्यमा आज राष्ट्रिय नाचघरमा आयोजित समरोहमा उहाँलाई उक्त पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशी नगद रु १५ हजार र कदरपत्र रहेको छ ।
यस्तै विश्वमा खेलमार्फत नेपालको नाम राख्न सफल ४ जना खेलाडी र एकजना डान्स च्याम्पियनलाई समेत आजै सम्मान गरिएको थियो ।
गीति नाटक- ऋतुहरूमा तिमी…
https://www.facebook.com/samriddhisanchar/videos/726631506796885
यसरी सम्मानित हुनेमा क्रिकेट खेलाडी जय थापा मगर, कराते खेलाडी अर्पण थापा मगर, कराँते खेलाडी संगीता मगरसहित ६७ केजीमा डबल गोल्ड मेडल दिलाउन सफल प्रदीप बैदाली मगरलाई सम्मान गरिएको थियो ।
यस्तै आजै एसइई डान्स च्याम्पिएनसिप बागलुङकी सिवानी थापा मगरलाई पनि सोही कार्यक्रममा सम्मान गरिएको थियो ।
आज कार्यक्रममा कलाकारहरुले गायक स्व. अरुण थापामगरको स्वर रहेको गीत ‘ऋतुहरुमा तिमी हरियाली बसन्त हौ, नदीहरुमा तिमी पवित्र गंगा हौ…’ मा गीति नाटक समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा हालै स्थापना भएको मगर विद्यार्थी भलाई कोषमा नेपाल मगर संघका सल्लाहकार तथा व्यवसायी दिलबहादुर थापा मगरले रु ५० हजार हस्तान्तरण पनि गर्नुभएको थियो ।
कार्यक्रममा साँस्कृतिक संस्थानका महाप्रबन्धक किरणबाबु पुनले गायक स्व. अरुण थापाको योगदान देशका लागि महत्वपूर्ण रहेको बताउनुभयो ।
उहाँको सम्मानमा आज सरकारी निकाय साँस्कृतिक संस्थानले पहिलोपटक नीति तथा कार्यक्रममा नै समावेश गरेर कार्यक्रम गरिएको उहाँले जानकारी दिनुभयो । यस्ता राष्ट्रिय व्यक्तिहरुलाई उचित सम्मान दिन सँस्थान सधैँ तयार रहेको उहाँले बताउनुभयो । सँस्थानले संस्कृति संरक्षण उद्देश्यले गाइजात्रा कार्यक्रम समेत गएको वर्षदेखि आयोजना गर्दै आएको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाल मगर विद्यार्थी संघका अध्यक्ष राजु पुन मगरले संघले २०६२ सालबाटै यस कार्यक्रम गर्दै आएको जानकारी दिँदै ५ हजारबाट अहिले २६औँ स्मृति दिवसमा पुरस्कार १५ हजार पुर्याइएको बताउनुभयो । उहाँले गायक स्व अरुण मगर यस समुदायले मात्रै नभए आम नेपाली समुदायको मनमुटुमा बस्न सफल गायक हुनुभएको र सबैको प्रेरणाको श्रोत भएको स्मरण गर्नुभयो ।
कार्यक्रममा नेपाल मगर साँस्कृतिक संघका अध्यक्ष दीप सागर थापामगर, स्व अरुण थापा मगरको परिवारकातर्फबाट सन्दन थापा मगर, नेपाल मगर संघका सहअध्यक्ष गंगाबहादुर थापा मगर, संघका सल्लाहकार एवं संस्कृतिविद् बमकुमारी बुढामगर लगायतले गायक स्वर्गीय मगरको योगदानको स्मरण गर्नुभएको थियो ।
