काठमाडौँ, ४ साउन : शनिबार रातिदेखि विकसित मौसम प्रणालीकाकारण आएको भारी वर्षापछिको बाढी र पहिरोले विभिन्न राजमार्गका ११ स्थानमा सडक अवरुद्ध भएको छ । जसका कारण ती राजमार्गमा यातायात आवागमन समेत रोकिँदा यात्रुहरु प्रभावित भएका छन् ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले अवरुद्ध सडक खुलाउन प्रहरी टोली परिचालन भएका जानकारी दिनुभयो ।
उहाँका अनुार कोशी राजमार्ग, मेची राजमार्ग, मध्यपहाडी लोकमार्ग, पासाङ ल्हामु राजमार्ग, कालिगण्डकी करिडोर, शहीद रामार्ग महाकाली राजमार्गसहितका विभिन्न सडकखण्ड अवरुद्ध भएको हो ।
प्रहरीका अनुसार आज बाढी र पहिरोका कारण संखुवासभाको भोटखोलामा कोशी राजमार्ग अवरुद्ध भएको छ । यस्तै पाँचथरको हेवा खोलामा बाढी आउँदा मेची राजमार्ग पनि अवरुद्ध बनाएको छ ।
बाढीकै कारण पाँचथरको तमोर करिडोर सडकखण्ड, तथा सोही जिल्लाको याङ्वरकको रिजाल भीर र दोभानमा असर पुग्दा मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ ।
यता रसुवाको गोसाईंकुण्डमा असार २४ को बाढीका कारण नेपाल र चीन जोड्ने नाकाको मितेरी पुल बगाउँदा पासाङ ल्हामु राजमार्ग पूर्णअवरुद्ध रहेको छ ।
बाग्लुङमा पहिरोका कारण कालिगण्डकी करिडोर र र मुस्ताङको जोमसोम लोमान्थाङ सडकखण्ड पनि पूर्ण अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ ।
उता रोल्पाको थवाङमा पहिरो जाँदा शहिद राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । यसतै रुकुम पश्चिमको आठविसकोटमा बाढीले जाजरकोट डोल्पा भेरि करिडोर पनि पूर्ण रुपमा अवरुद्ध भएको छ ।
यस्तै बैतडीको दशरथ चन्द नगरपालिकामा पहिरो खस्दा महाकाली राजमार्ग पनि अवरुद्ध भएको प्रहरी प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा २२ जिल्लामा भारीदेखि अतिभारीसम्म वर्षा भएको छ । पर्वतमा घरमा पहिरो खस्दा २ जनाको मृत्यु भएको छ ।