डिल्ली आचार्य,
संसारमा विभिन्न किसिमका सुरक्षा चुनौती हुन्छन्। ती निकै संवेदनशील मानिन्छन्। तीमध्ये खाद्य सुरक्षा, सीमा सुरक्षा, साइबर सुरक्षा अति संवेदनशील हुन्छन्। तीमध्ये कुनै एकमा चुक्यो भने त्यो देश नै सकिन्छ।
खाद्य सुरक्षा- खाद्यान्नको अभाव र भोकमरीको अवस्था आयो भने गोला बारुद र क्षेप्यास्त्रले पनि केही काम गर्दैन। एक बोरा चामल पायो भने त्यो देशको सेना युद्धका वेला काम आउँदैन। क्षेप्यास्त्र र एके ४७ राइफलभन्दा एक बोरा चामल शक्तिशाली हुन्छ। जनता पनि विद्रोहमा उत्रन्छन्।
अहिले नेपालको अन्न भण्डार मधेश र तराई अन्न उत्पादन गर्न सक्ने अवस्थामा छैनन्। पानी अभाव, जनशक्ति अभाव, मल अभावले पीडित छन्।
सीमा सुरक्षा- कुनै देशको अन्ताराष्ट्रिय सीमा जोगाउन सुरक्षाकर्मी तैनाथ गरिएका हुन्छन्। तिनलाई छिमेकका सुरक्षाकर्मी सरहको वा नभए पनि पर्याप्त सेवा सुविधा दिएन भने तिनमा काम गर्ने उत्साह हुँदैन। पर्याप्त आहार, बुट र लुगा किन्न पैसा छैन भने सिमानामा हुने गतिविधि नियन्त्रणमा आउन कठिन हुन्छ।
हिजो भर्खरै सशस्त्र प्रहरीबलका महानिरीक्षक राजु अर्यालले खाना, पोषण, पोशाक र बुट किन्ने पैसा निकै कम भएको बताएका छन्।
साइबर सुरक्षा- इन्टरनेटबाट सेवा सुविधा दिने भएपछि यसमा सुरक्षा दिन नसकेपछि मन्त्रालय, वित्तीय प्रणाली, कारोबार सबै ध्वस्त हुन्छ। देशका सबै तथ्यांक अर्कैले नियन्त्रणमा लिन्छ। सबै तथ्यांक ध्वस्त पारिदिन्छ। हाम्रा सरकारी साइट वा प्रणाली कति सुरक्षित छन्?
वैचारिक स्पष्टता– उपर्युक्त सुरक्षासँगै दलहरूमा वैचारिक स्पष्टता पनि अत्यावश्यक हुन्छ। आफूसँग सत्ता गठबन्धन गर्दासम्म त्यो दलका सबै गतिविधि राम्रो भन्ने र विपक्षमा रहँदा त्यही कुरा खत्तम भन्ने प्रवृत्ति नेपालका सबै राजनीतिक दलमा व्याप्त छ। एमालेसँग सत्ता सहकार्य नगर्दा काँग्रेसका गगन थापा र विश्वप्रकाश शर्मा गिरि बन्धु चिया बगान भन्दै उफ्रन्छन्। एमालेसँग सत्ता गठबन्धन गर्दा वर्षासम्म त्यसबारेमा मौन रहन्छन्। रवि लामिछानेको दलसँग मिल्दासम्म उसको कुनै अपराध भेटिएन भन्दै एमालेका सूर्य थापा लगायत बयान दिन्छन्। ऊसँग गठबन्धन गर्नु नपर्ने भएपछि लामिछाने ठग हुन् भन्दै उनकै नेता केपी ओली चर्को भाषण गर्छन्। माओवादीका अध्यक्ष प्रचण्ड र मधेशी नेताहरूको हाल पनि उस्तै छ।
आर्थिक सुरक्षा, बौद्धिक सुरक्षा, सांस्कृतिक सुरक्षा, पर्यावरण सुरक्षा, स्वास्थ्य सुरक्षा, सूचना सुरक्षा लगायतका विभिन्न सुरक्षा हुन्छन्।
के हामी यी क्षेत्रमा सुरक्षित छौँ? ती क्षेत्रमा सुरक्षित छौँ भने देश सुरक्षित रहन्छ। यी क्षेत्रमा सुरक्षित छैनौँ भने देश पनि रहँदैन।