काठमाडौँ, २९ असार : सांस्कृतिक संस्थानले आउँदो साउनमा “गाईजात्रा महोत्सव २०८२” आयोजना गर्ने भएको छ ।
आज राष्ट्रिय नाच घरमा आयोजित पत्रकार सम्मेलनमा संस्थानले दोस्रो गाइजात्रा महोत्सव गर्न लागेको जानकारी गराएको हो ।
डिजिटल युग तथा वैश्वीकरणको प्रभावले समाजमा विकृति, विसंगति बढ्नुका साथै नेपाली संस्कृति नै संकटमा पर्ने खतरा बढेको परिवेशमा नयाँ पुस्तामाझ प्राचीन संस्कृतिको मूलमर्म सही रूपमा सम्प्रेषण गर्न संस्थानले नेपालका सम्पूर्ण सांस्कृतिक चाडपर्व विशेष कार्यक्रम प्रस्तुत गर्दै आइरहेकाले सांस्कृतिक पर्व गाईजात्रा (सापारू) को अवसरमा गाईजात्रा महोत्सव आयोजना गर्न लागिएको संस्थानले जनाएको छ ।
भिडिओ : किरणबाबु पुन
https://www.facebook.com/samriddhisanchar/videos/2163366134138454
संस्थाका महाप्रबन्धक किरणबाबु पुनले नेवार समुदाय विशेष सांस्कृतिक पर्व गाईजात्रा (सापारू) लाई प्राचीन सांस्कृतिक परम्परा, मूल्य–मान्यता अनुरूप उत्सवका रूपमा मनाउन “गाईजात्रा महोत्सव २०८२” आउँदो साउन २४ गतेदेखि ३१ गतेसम्म आयोजना गर्ने तय गरिएको व्यहोरा जानकारी दिनुभयो ।
उहाँले बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विविधताभित्र एकता भएको राष्ट्र नेपालको पहिचान रक्षार्थ संस्कृतिभित्रको प्रमुख अवयव सांस्कृतिक चाडपर्वहरूको संरक्षण, संवद्र्धन, प्रवद्र्धन तथा पुस्तान्तरणसहित उत्पादनमा जोडदिने उद्देश्यका साथ उक्त कार्यक्रम गर्न लागिएको पुनले बताउनुभयो ।
संस्थानले गतवर्षदेखि आफ्नो वार्षिक नीति तथा कार्यक्रमा समेटेर गाईजात्रा महोत्सव गर्ने परम्पराको थालनी गरेको थियो । सोही अनुरुपको यो दोस्रो कार्यक्रम हो ।
आ.व. २०८२/८३ मा पनि नीति तथा कार्यक्रममा समावेश गरी मनाउन लागिएको मोत्सवमा झनै आकर्षक ढंगले मौलिक संस्कृतिसहित भरपूर मात्रामा हास्य रस प्रदायक बनाउने लक्ष्यका साथ संस्थानका कलाकारहरू र लोकप्रिय हास्यकलाकारहरूको प्रस्तुति रहने संस्थाले जानकारी गराएको छ ।
यसपालिको महोत्सवमा संस्थानका गायन, वादन, नृत्य र नाटक सम्बद्ध कलाकारहरूका अलावा लोकप्रिय कलाकारहरू लक्ष्मण गाम्नाङ्गे, सुरेन्द्र केसी (मुला साग), शिवशंकर रिजाल (जोगिन्दर), राजा राजेन्द्र पोखेल, हिमेश पन्त, भरतमणि पौडेल, खबपु चञ्चल मगर, सुमन कोइराला (दले दाइ), दिनेश काफ्ले (हाउडे दाइ), सन्तोष थापा, कैलाश कार्की, सुजिता श्रेष्ठ, विकास अर्याल, सरोज भण्डारी र सुयसा खनालको प्रस्तुति रहनेछ ।

संस्थानको कार्यालय र संस्थानको वेभसाइटमार्फत डिजिटल रूपमा टिकट उपलब्ध हुने र मूल्य एक जार तथा ५०० का टिकट रहेको जनाइएको छ ।
गाईजात्राको मौलिक संस्कृति लोप हुने खतरा बढेकाले यसको संरक्षणका लागि संस्थानले आफ्नो मूल अभिभारा बमोजिम गाईजात्रा महोत्सव गर्ने परम्परा गतवर्षदेखि थालनी गरेको हो ।
पुनले भन्नुभयो, “शोक र मृत्युसँगको पृष्ठभूमि जोडिएको गाईजात्रा पर्वले नेपाली संस्कृतिले शोकसँगै हाँसोमा पनि साथ दिन्छ भन्ने प्रतिकात्मक अर्थ बोकेको पाइन्छ । यसर्थ गाईजात्रा पर्वभित्र आँसु र हाँसोको अलौकिक सङ्गम रहेकाले बैेग्लै मौलिक संस्कृति पाइन्छ ।”
गाईजात्रामा पछिल्लो समय अभिव्यक्त गरिने व्यङ्ग्यात्मक प्रस्तुतिमा सामाजिक पक्षभन्दा राजनीतिक पक्षलाई विशेष व्यङ्ग्य गर्ने परिपाटी रहेको छ ।
तर गाईजात्राको अवसरमा परम्परागत रूपमा र लोकतान्त्रिक पद्धति अनुसार पनि व्यङ्ग्य गर्ने छुट रहेको पाइन्छ । तर छुटको नाउँमा अतिरञ्जित किसिमले प्रहसन गरी सांस्कृतिक पर्व गाईजात्रा भन्नु अतिरञ्जित व्यङ्ग्य गर्ने पर्व हो भन्ने किसिमको भाष्य नयाँ पुस्तामाझ सम्प्रेषण हुनुले मौलिक संस्कृतियुक्त गाईजात्रा पर्वको अस्तित्व सङ्कटमा पर्दै गएको महसुस भएको संस्थानले जनाएको छ ।
त्यसैले गाईजात्रा पर्वलाई मौलिक संस्कृति अनुरूप मनाउन र सभ्य सांस्कृतिक सन्देश सम्प्रेषण गर्नका लागि संस्थानले संस्कृतियुक्त रचनात्मक, सौन्दर्यात्मक एवम् कलात्मक कन्टेन्टलाई विशेष जोड दिने संस्थानका अध्यष चन्द्रकुमार राई ‘हतुवाली’ले जानकारी दिनुभयो ।
आजको पत्रकार भेटघाट कार्यक्रममा हास्यकलाकारहरु सुरेन्द्र केसी (मुला साग), शिवशंकर रिजाल (जोगिन्दर), राजा राजेन्द्र पोखेल, हिमेश पन्त, भरतमणि पौडेल, खबपु चञ्चल मगर, सुमन कोइराला (दले दाइ), दिनेश काफ्ले (हाउडे दाइ), सन्तोष थापा, कैलाश कार्की, विकास अर्याल, सरोज भण्डारी र सुयसा खनालले संस्कृति संरक्षण गर्ने उद्देश्यसहित फरक स्वादमा आफूहरुले प्रस्तुति दिन लागेको जानकारी दिनुभएको थियो ।