काठमाडौँ, २८ असार : वर्षा, बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच ठाउँमा राजमार्ग अवरुद्ध भएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार अन्य ४ स्थानमा अवरुद्ध भएको सडक भने एकतर्फी खुलाइएको छ । बन्द भएका राजमार्ग पनि खुलाउने प्रयास जारी रहेको प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।
उहाँका अनुसार अविरल वर्षाका कारण संखुवासभाको भोगखोला गाउँपालिका ४ मा सडक अवरुद्ध हुँदा कोशी राजमार्गमा यातायात सञ्चालन रोकिएको छ ।
यस्तै रसुवाको गोसाईंकुण्ड गाउँपालिका २ मा बाढीका कारण नेपाल चीन नाका जोड्ने पुल तथा पासाङ ल्हामु राजमार्ग अवरुद्ध भएको छ । यो राजमार्ग असार २४ गतेको बाढीले मितेरी पुल बगाएसँगै अवरुद्ध भएको हो ।
यस्तै बाढीका कारण सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका २ मा सडक अवरुद्ध हुँदा अरनिको राजमार्गमा पनि यातायात सञ्चालन हुन सकेको छैन ।
घिमिरेका अनुसार रुकुमपश्चिमको आठविसकोट गाउँपालिका ६ मा बाढीले क्षति पुर्याउँदा जाजरकोट–डोल्पा–भेरी करिडोर पूर्णरुपमा अवरुद्ध भएको छ ।
यस्तै डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका १ छलघाटमा पनि सडक अवरुद्ध हुँदा भेरी करिडोरमा गाडी चल्न सकेको छैन ।
यता विपद्जन्य घटनाका कारण अवरुद्ध भएको रोल्पा र गुल्मीस्थित शहिद राजमार्ग, बाग्लुङको कालिगण्डकी करिडोर सडकखण्ड एकतर्फी खुलाइएको पनि प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
यस्तै पहिरोले अवरुद्ध बनेको बैतडीको खोड्पे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग पनि सञ्चालनमा आएको छ ।