काठमाडौँ, २७ असार : माथिल्लो जलाधार क्षेत्रमा हिमताल विष्फोट भएर रसुवामा मङ्गलबार आएको बाढीमा परेर मृत्यु हुने ११ जना पुगेका छन् ।
यसअघि ९ जनाको मृत्यु भएकामा त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा २ जनाको शव फेला परेसँगै आजसम्म मृत्यु हुनेको संख्या ११ पुगेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिलेसम्म बाढीमा फसेका अलपत्र परेका तथा सडक अवरुद्ध हुँदा रोकिएका गरी ८६२ जनाको उद्धार गरिएको छ । उनीहरुलाई उद्धार गरी सुरक्षित गन्तव्यतर्फ पठाइएको उहाँले बताउनुभयो ।
अहिलेसम्म १ जनाको शव सनाखत भएको र अन्य शवहरुको सनाखत हुन सकेको छैन । कतिपयको चिन्न नसक्ने अवस्थाको र कतिपय मानव अङ्गमात्रै फेला पारिएको छ ।
प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार अझै १९ जना बेपत्ता रहेका छन् । उक्त बाढीमा परेर रसुवाबाट हराइरहेका एक जना प्रहरी (असई) लालबहादुर श्रेष्ठको शव पहिचान भएपछि अन्त्येष्टि गरिएको तर अरुको पहिचान नहुँदा अन्त्येष्टि गर्न सकिएको छैन । शवलाई महाराजगञ्जस्थित शिक्षणअस्पतालमा राखिएको छ ।
उक्त बाढीमा परेकाहरुको उद्धारका लागि एक हजार ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । बेपत्ताहरुको खोजी अहिले पनि जारी रहेको प्रहरीले जनाएको छ ।
उक्त बाढीले नेपाल चीन सीमा क्षेत्रको मितेरी पुल बगाएको थियो । यस्तै २४ वटा कन्टेनर, छ वटा ट्रक र ४२ वटा इभी गाडी बगाएको छ ।
धुन्चेदेखि टिमुरे जाने सडकसमेत ठूलो क्षति पुगेको छ । रसुवागढी हाइड्रोको ड्याम, भन्सार कार्यालय रसुवाको यार्डमा समेत क्षति भएको छ ।
यहाँ माथिलो जथाधार क्षेत्रमा रहेको हिमताल विष्फोटबाट बाढी आएको जल तथा मौसम विज्ञान विभागले प्रारम्भिक निष्कर्ष निकालेको छ ।