काठमाडौँ, २३ असार : नेपाल सङ्गीत तथा नाट्य–प्रतिष्ठानमा आज गीत सङ्गीतकको बेग्लै माहोल बन्यो । जहाँ राष्ट्रियता र राष्ट्रभाव झल्किने सातै प्रदेशका सयौँ प्रतियोगिबाट छानिएका उत्कृष्ट सात गीत र २ वटा म्यूजिक भिडिओ सार्वजनिक हुँदै थियो ।
देशभरबाट छानिएका र मौलिक संस्कृति झल्कने ती गीतसँगै सङ्गीतका धुन यहाँ पहिलोपटक सार्वजनिक हुँदा गीतका गायक, सङ्गीतकार, गीतकार, अभिनय गर्ने कलाकार, मोडल तथा पत्रकारहरुको बाक्लो उपस्थिति थियो ।
भिडियो : कुलपति निशा शर्मा
https://www.facebook.com/samriddhisanchar/videos/534317899675534
त्यही साङ्गीतिक माहोलका बीच यहाँ २ म्युजिक भिडियो र ७ वटा अडियो रेकर्ड भएका राष्ट्रिय भावना तथा संस्कृतिले ओतप्रोत गीत आज सार्वजनिक हुँदा तालिले स्वागत गरिएको थियो ।
नक्सालस्थित प्रज्ञा–प्रतिष्ठानको कार्यालय भवनमा आयोजित कार्यक्रममा ‘तीते तीते…’ बोलको गीत र ‘लहविरे भाका’को गीतको म्युजिक भिडियो सार्वजनकि गरिएको थियो । यस्तै गणतन्त्र दिवस २०८१ का अवसरमा आयोजना गरिएको राष्ट्रिय गीत लेखन प्रतियोगितामा विजयी सात वटै प्रदेशका राष्ट्रिय भावनाले ओतप्रोत गीतको अडियो रेकर्ड पनि सार्वजनिक गरिएको हो ।
भिडियो : उप-कुलपति शम्भू राई
https://www.facebook.com/samriddhisanchar/videos/3216788601813168
उक्त समारोहमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा पोखरेलले राष्ट्रिय भावना र जनचेतना अभिवृद्धिका लागि म्युजिक भिडियो र गीतहरुको रेकर्ड गरिएको बताउनुभयो । उहाँले सुरुमा ३ वटा मात्रै गीत छनोट गर्ने कुरा भए पनि असाध्यै राम्रा र राष्ट्रभावका थीत आएकाले बजेट अभावका बीच पनि सातवटा गीत छनोट गरिएको बताउनुभयो ।

राष्ट्रिय भावका गीत तथा राष्ट्रिय गीतको भिडियो सार्वजनिक कार्यक्रमका संयोजक नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका उपकुलपति शम्भू राईले विदेशी संस्कृतिको हस्तक्षेप बढिरहेको सन्दर्भमा मौलिक नेपाली संस्कृतिको जगेर्ना र अभिवृद्धिका लागि सबै जना एकजुट हुनुपर्ने बताउनुभयो । त्यही प्रयास प्रतिष्ठानले गरेको उहाँले बताउनुभयो ।

उहाँले सार्वजनिक गरिएका म्युजिक भिडियो र अडियो गीतहरु प्रज्ञा–प्रतिष्ठानको अफिसियल युट्युव च्यानलमा अप्लोड गरिएकाले सबै जनालाई हेरेर प्रतिक्रिया दिनसमेत अनुरोध गर्नुभएको छ ।
प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव कुुश्मा महरा ‘प्रगति’ले बजेटको व्यवस्था गरेर अडियो रेकर्ड गरिएका राष्ट्रिय भावनाका सात वटै गीतको भिजुअल बनाउनेसमेत प्रतिबद्धता जनाउनुभयो ।
गणतन्त्रलाई संस्थागत गर्ने उद्देश्यले यसरी राष्ट्रिय र राष्ट्र भाव झल्कने गीत प्रतियोगितात्मक रुपमा छनोट गरी आज सार्वजनिक गरिएको उहाँले बताउनुभयो ।

कुन गीतका सर्जक को?
प्रतिष्ठानले आजै सार्वजनिक भएका भिडियोका निर्देशक र गीतका गीतकार, सङ्गीतकार र गायक गायिकालाई सम्मान समेत गरिएको थियो ।
सार्वजनिक भएका भिडियोमध्ये शिक्षासम्बन्धी चेतना फैलाउने ‘तीते तीते…’ गीतको म्युजिक भिडियोलाई अभि लामाले निर्देशन गर्नुभएको हो ।
यस गीतको रचना प्रकाश सापकोटा, सङ्गीत महेश खड्का र गायन शान्तिश्री परियारको रहेको छ भने कलाकारमा बिना रावत र अलि तामाङ रहनु भएको छ ।
त्यसै गरी पूर्वी पहाड ओखलढुङ्गा जिल्लाका बायुङ, थुलुङ र वाम्बुले समुदायले गाउँदै आएको लोपोन्मुख लहबिरे भाकाको गीतमा सङ्गीतकार लाहाङ सुब्बाको सङ्गीत संयोजन र गायक कुमार प्रयास, परेश राई र तेजकुमार राई तथा गायिका इन्द्रकला राई, मनमाबी राई र रश्मी राईको स्वर रहेको छ । यस गीतको म्युजिक भिडियोलाई पनि निर्देशक अभि लामाले नै निर्देशन गर्नु भएको छ ।
राष्ट्रिय गीत लेखन प्रतियोगिता–२०८१ मा छनोट भएका ७ वटा प्रदेशका गीतमा कोशी प्रदेशबाट तेजकुमार राईको शब्दलाई महेश खड्काको सङ्गीत र सन्दीप पनेरु र प्रिया पोखरेल पनेरुको स्वर रहेको छ ।
मधेस प्रदेशबाट लिलाराज दाहालको शब्द रचनालाई बसन्त सापकोटाको सङ्गीतमा प्रल्हाद तिमल्सिना र मनिसा सुनारले स्वर भर्नु भएको छ । त्यसैगरी वागमती प्रदेशबाट सृजना अर्यालको शब्दलाई शान्तिराम राईको सङ्गीतमा रोशन राईको गायन रहेको छ ।
लुम्बिनी प्रदेशबाट बसन्तकुमार आचार्यको गीतमा आशीष अविरलको सङ्गीत र स्वर रहेको छ । कर्णाली प्रदेशबाट क्षितिज समर्पणको गीतलाई महेश खड्काको सङ्गीतमा मिलन खपाङ्गी र मिना चौधरीले स्वर भर्नु भएको छ ।
सुदूरपश्चिमबाट धिरन नाथको गीतलाई शान्तिराम राईको सङ्गीतमा रोशन राईको स्वर रहेको छ भने गण्डकी प्रदेशबाट बाबुराम श्रेष्ठको गीतलाई श्रीकृष्ण बम मल्लको सङ्गीतमा लक्ष्मी मल्ल, सारिका घिमिेरे, उषा गजुरेल र योगेश काजी शाहले स्वर दिनु भएको छ ।
कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका ४ जना कर्मचारीलाई पनि सम्मान गरिएको थियो । सम्मानित हुनेमा प्रदीप गुरागाईं, प्रविन सापकोटा, ध्रुव वाग्ले र जगदीश सापाकोट हुनुहुन्छ ।
सम्मानितहरू
