काठमाडौँ, २० असार : जल तथा मौसम विज्ञान विभागले जुलाईदेखि सेप्टेम्बर (असार १७ देखि असोज १४) सम्मको तीन महिनाको अवधिमा मधेश प्रदेशका दक्षिणी भू–भागमा सरदरभन्दा कम वर्षा हुने अद्यावधिक आँकलन सार्वजनिक गरेको छ ।
विभागले कोशी प्रदेशका दक्षिणी भू–भागमा सरदर र देशका बाँकी भू–भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको अद्यावधिक विवरण पनि सार्वजनिक गरेको विभागका सूचना अधिकारी दिनाकर कायस्थले जानकारी दिनुभयो ।
यसअघि विभागले जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको तथा अधिकतम तापक्रम र न्यूनतम तापक्रमसमेत देशभर सरदरभन्दा बढी रहने आँकलन सार्वजनिक गरेको थियो ।
अहिले फेरि मनसुनको हावापानीको अवस्था अद्यावधिक गर्दै विभागले नयाँ आँकलन सार्वजनिक गरेको हो । जस अनुसार कर्णाली प्रदेशको पूर्वी भू–भाग, लुम्बिनी प्रदेशको उत्तरी भू–भाग र गण्डकी प्रदेशको अधिकांश भू–भागमा सरदरभन्दा बढी वर्षा हुने संभावना विगतकै आँकलन झैँ ५५ प्रतिशतदेखि ६५ प्रतिशत रहेको छ ।
सुदुरपश्चिम प्रदेशको दक्षिणी भू–भाग, लुम्बिनी प्रदेशको पश्चिमी भू–भाग, गण्डकी प्रदेशको उत्तर–पूर्वी भू–भाग, बागमती र कोशी प्रदेशको उत्तरी भू–भागमा सरदरभन्दा बढी वर्षा हुने संभावना ४५ प्रतिशतदेखि ५५ प्रतिशत रहेको छ ।
त्यसैगरी सुदुरपश्चिम प्रदेशको उत्तरी भू–भाग, लुम्बिनी प्रदेशको दक्षिण–पूर्वी भू–भाग, बागमती प्रदेशको दक्षिणी भू–भाग र कोशी प्रदेशको मध्य भू–भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत रहेको छ ।
कोशी प्रदेशका दक्षिणी भू–भागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५प्रतिशत रहेको छ भने मधेश प्रदेशका मध्य तथा पूर्वी भू–भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि देखि ४५ प्रतिशत रहेको जनाइएको छ ।
उक्त अद्यावधिक आँकलन विश्व मौसम संगठनको विश्वभर तथा क्षेत्रीयस्तरको जलवायु सूचना तथा उत्पादन गर्ने केन्द्रको हावापानीको प्रारुपहरुको आँकलन र साउथ एसियन सेसन क्याइमेट आउटलुक फोरकको आँकलनका आधारमा गरिएको हो ।
यस्तै नेपालको मनसुन ऋतुको जलवायु प्रभाव पार्ने प्रर्वी प्रशान्त महाशाखामा विकसित हुने एल्निनो र साउदर्न ओसिलिएसन तथा हिन्द महासागरमा विकसित हुने इन्डियन ओसन डिपोलको हालको अवस्था तथा जलवायु प्रारुपको मनसुन ऋतुको आँकलन र युरोप तथा एसियामा गत हिउँद तथा प्रिमनसुन ऋतुमा परेको हिउँ र अन्तरऋतु परिवर्तनका कारकहरुका आधारमा आँकलन गरिने गरिएको हो ।