काठमाडौँ, २० असार : काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले काठमाडौँ महानगरपालिका शिक्षा विभाग र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा भएको विद्यार्थीका कला प्रदर्शनी अवलोकन गर्दै यस कार्यक्रमले विद्यार्थीलाई थप प्रेरित गरेको बताउनुभएको छ।
प्रतिष्ठानको कार्यालय नक्सालमा यही असार १३ गतेदेखि सुरु भएको प्रदर्शनीको अवलोकनका क्रममा उहाँले महानगरभित्रका ४६ विद्यालयका एकब हजार ३०० भन्दा बढी विद्यार्थीका कला सिर्जना आकर्षक र संस्कृति तथा सम्पदाको संरक्षण केन्द्रित रहेको प्रतिक्रिया दिनुभयो ।
शिक्षामा सिप कार्यक्रमअन्तर्गत ‘स्केचिङ एन्ड स्कप्चर’ मोड्युलको तालिम कार्यक्रमपछि विद्यार्थीहरूबाट सिर्जित कलाकृतिको यहाँ प्रदर्शन गरिएको हो ।
सो क्रममा उपप्रमुख डङ्गोलले भन्नुभयो, “पेन्टिङ, स्केच, स्कल्पचर, क्राफ्टका ट्रेनिङहरू भइरहेका सन्दर्भमा तपाईँहरूले त्यो राम्ररी सिक्नुभएको छ भन्ने लागेको छ । अघिल्लो वर्षभन्दा यस वर्ष धेरै इम्प्रुभमेन्ट भएको मैले पाएँ । सिक्नेक्रम तीव्र रूपमा अघि बढिरहोस्, यसले विद्यार्थीलाई प्रेरित गरेको महसुस गरेँ ।”
यसैबीच उहाँले उक्त प्रदर्शनीको आजै समापनसमेत गर्नुभयो । समापन समारोहमा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले शिक्षालाई सिपसँग जोड्दा सिर्जनात्मक अभिव्यक्तशील कलाको तहगत अनुभूति गराउन सहयोग गर्ने बताउनुभयो ।
प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले शिक्षामा सिप कार्यक्रमअन्तर्गतको ‘स्केचिङ एन्ड स्कप्चर’ मोड्युलको तालिमले देशको आगामी कला संस्कृतिको जग निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले सिर्जनशील व्यक्तित्व निर्माण गर्न कलाको ठूलो योगदान रहने पनि जिकिर गर्नुभयो ।
कार्यक्रम संयोजक तथा प्रतिष्ठानका बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारीले कार्यक्रममा महानगरका ४६ विद्यालयका १३०० भन्दा बढी विद्यार्थी सहभागी यो निकै उत्साहजनक रहेको धारणा राख्नुभयो । उहाँले कला समाजको प्रतिविम्ब भएको र यसले सिकाइका क्रममा थेरापीको पनि काम गर्ने बताउनुभयो ।
समारोहमा प्रशिक्षक तथा सहायक प्रशिक्षक, प्रत्येक विद्यालयका उत्कृष्ट विद्यार्थीलगायतलाई सम्मान पनि गरिएको थियो ।
यससँगै प्रदर्शनीको सन्दर्भ पारेर प्रतिष्ठानले आयोजना गरेको विद्यालयमा प्रशिक्षक तथा सहायक प्रशिक्षक रहेका कलाकारहरूले सिर्जना गरेका कलाकृति समावेश गरिएको ‘एकता’ प्रदर्शनी पनि आजै शुक्रवार सम्पन्न भएको छ ।