रत्ननगर, २० असार : चितवनको रत्ननगर नगरपालिका वडा नं १५ ले रत्ननगर मै पहिलोपटक सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको छ ।
जनप्रतिनिधि र स्थानीय बासिन्दाबीच प्रत्यक्ष संवाद कायम गर्दै विकास, सेवा प्रवाह र जनमुखी कार्यक्रमबारे उक्त वडाले आज मन्थन गरेको हा ।
कार्यक्रममा सहभागी अधिकांश सेवाग्राहीले वडा कार्यालयले प्रदान गरेको सेवा र जनमुखी कार्यक्रमको खुलेर प्रशंसा गरे। सार्वजनिक सुनुवाइका क्रममा विकास निर्माण र सुधार गर्नुपर्ने विषयहरूमा समेत सुझाव प्राप्त भएको रत्ननगर १५ का वडाध्यक्ष आसिक तामाङले जानकारी दिनुभयो । उहाँले सेवा प्रवाहमा चुस्त काम गर्ने पनि प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरूले आ–आफ्नो धारणा राखेका थिए। नेपाली कांग्रेसका उपसभापति केशवबाबु घिमिरेले सार्वजनिक सुनुवाइ गर्नु नै लोकतान्त्रिक अभ्यासका लागि महत्वपूर्ण कदम भएको बताएउनुभयो। नेकपा एमालेका अध्यक्ष कृष्ण पन्तले वडा नं। १५ को विकास र समृद्धिका लागि भइरहेको प्रयत्नको उच्च मूल्याङ्कन गर्नुभयो ।

त्यस्तै, माओवादी केन्द्रका वडा अध्यक्ष देवीप्रसाद वस्ताकोटीले वडाले गरेको ऐतिहासिक कदमको प्रशंसा गर्नुभयो भने रास्वपा सभापति हरिप्रसाद सिलवालले उपभोक्ता समिति गठन गर्दा राजनैतिक आस्था हेरिएको बताउनुभयो । उहाँले सूचना प्रवाहमा सुधार आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । राप्रपाका वडा अध्यक्ष प्रितम पाण्डेलगायतका नेताहरूले पनि धारणा राख्नुभएको थियो ।
सार्वजनिक सुनुवाइका क्रममा स्थानीय बासिन्दाहरूले समयमा कुलो निर्माण सम्पन्न नभएको, सुत्केरी तथा गर्भवती पोषण कार्यक्रममा सहभागिता न्यून रहेको, एम्बुलेन्सको व्यवस्थापन, शैक्षिक गुणस्तर सुधारका लागि अनुगमन लगायतका विषयमा प्रश्न उठाएका थिए।
सोधिएका प्रश्नहरूको वडाध्यक्ष आसिक तामाङ, स्वास्थ्य केन्द्र प्रमुख रोजिना गिरी, पिठुवा सिँचाईका सचिव मदन भुजेल लगायतले जवाफ दिनुभएको थियो । उहाँहरुले वडा कार्यालयले कुनै पूर्वाग्रह नराखी बजेटको दायराभित्र रहेर नगरवासीका सरोकारका विषय समाधान गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा पूर्वजनप्रतिनिधि र व्यावसायिक पशुपालक कृषक चेतप्रसाद ढकाललाई सम्मान गरिएको थियो।
कार्यक्रममा वडा सदस्य ईमप्रसाद पन्तले वडाको प्रतिवेदन पेश गर्नुभयो भने वडासदस्य शिवप्रसाद तिवारीले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा वडा सचिव नवराज तिवारी, कम्प्युटर अपरेटर शक्ति बुढाथोकी, विभिन्न दलका प्रतिनिधिहरू र स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो ।
उज्यालो नेपाल एड्भर्टाइजिङ एन्ड ब्रोडकास्टिङ प्रा.लि.को संयोजनमा आयोजित कार्यक्रमको सहजीकरण रामकान्त पौडेलले गर्नुभएको थियो ।

लगातारनेपालको सहयोगमा