काठमडौँ, १४ असार : जल तथा मौसम वित्रज्ञान विभाले शनिबार साँझदेखि लुम्बिनी प्रदेशसहितका पश्चिम नेपालका केही ठाउँमा भारीदेखि अति भारी वर्षा हुने सार्वजनिक सूचना जारी गरे अनुसार आज साँझबाट धेरै ठाउँमा वर्षा हुन थालेको छ ।
डोटीमा भारी वर्षा र प्यूठानमा अति भारी वर्षा मापन गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यो क्रम बढ्दै जाने पनि विभागका मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए ।
अर्यालका अनुसार प्यूठानको सेउलिबाङ वर्षामापन केन्द्रमा पछिल्लो ६ घण्टामा ११९ मिलिमिटर पानी परेको छ । १०० मिलिमिटरभन्दा बढी वर्षालाई धेरै भारी वर्षा भनिन्छ ।
यस्तै डोटीको झिक्राना वर्षामापन केन्द्रमा भने भारी वर्षा भएको छ । त्यहाँ पछिल्लो ६ घण्टामा ७७ मिलिमिटर वर्षा भएको छ । ५० मिलिमिटरभन्दा बढी वर्षालाई भारी वर्षा भएको मानिन्छ । सो क्षेत्रमा अहिले पनि हल्कादेखि मध्याम वर्षा भइरहेको पनि अर्यालले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले गण्डकी प्रदेशको दक्षिण क्षेत्र, लुम्बिनी प्रदेशको उत्तरी भूभाग, कर्णाली र सुदुरपश्चिमका तल्लो भूभागका विभिन्न क्षेत्रमा हल्कादेखि मध्याम वर्षा भइरहेको छ ।
कर्णालीको पिपलचौर, जाजरकोटको मापन केन्द्रमा पनि भारी वर्षा उन्मुख (४० मिलिमिटर) वर्षा भएको छ । वर्षा बढ्ने क्रम जारी रहेको जनाइएको छ । गण्डकी प्रदेशको म्याग्दीको तातोपानी क्षेत्र, पर्वतको कुस्मामा पनि मध्यम वर्षा भएको छ ।
वर्षा गराउने प्रणाली विकास भइरहेको पनि अर्यालले बताउनुभयो ।
यस्तो छ भोलि र पर्सीको मौसमी अवस्था

मनसुन विशेष मौसम बुलेटिन जारी गरी विभागको मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
विभागका अनुसार बंगालको खाडी तथा अरबको सागरबाट प्रवाह हुने जलवाष्पयुक्त हावाका साथै त्यस क्षेत्रहरूमा न्यून चापीय प्रणालीको प्रभावको कारण भारी वर्षा हुन लागेको हो ।
विभागले भनेको छ, ‘असार १४ गते शनिबार साँझदेखि २०८२ असार १६ सोमबार बिहानसम्म कर्णाली प्रदेशको पहाडी भू–भाग, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराईका भू–भागका थोरै स्थानहरुमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । साथै अन्य प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमासमेत भारीदेखि धेरै अति भारी वर्षाको सम्भावना रहेको छ ।’
महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानमा तथा पश्चिममा सरदर स्थानबाट दक्षिणतर्फ अवस्थित रहेको जनाइएको छ । भोलि शनिवार साँझबाट उक्त रेखा सरदर स्थानबाट उत्तरतर्फ पश्चिम नेपालको केही नजिक सर्ने सम्भावना देखिएको विभागले जनाएकको छ ।
यस प्रणालीको प्रभावले यही असार १४ गते (शनिवार)साँझदेखि असार १६ गते सोमवार बिहानसम्म कर्णाली प्रदेशको पहाडी भू–भाग, सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराईका भू–भागमा मनसुन सक्रिय हुने सम्भावना रहेको हो ।
तसर्थ, सम्भावित वर्षाको कारणले भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन–जीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरेको छ ।
यस मनसुन प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको छ र सोही अनुसार नियमित रूपमा अद्यावधिक गर्दै जाने विशेष बुलेटिनमा उल्लेख छ । तसर्थ, यस महाशाखाबाट जारी हुने तीन दिने मौसम बुलेटिन नियमित हेर्नुहुन र अद्यावधिक मौसमी सूचनाको जानकारी लिन पनि भनिएको छ ।