काठमाडौँ : नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले वरिष्ठ गायक दीप श्रेष्ठलाई नेपाल सङ्गीत तथा नाट्य दीर्घ साधना सम्मान २०८१ र अरु आठ जना वरिष्ठ स्रष्टालाई नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार प्रदान गरेको छ ।
बुधबार दिउँसो राष्ट्रपति भवन शितल निवासमा एक कार्यक्रम आयोजना गरी राष्ट्रपति रामचन्द्र पौडेलले उक्त सम्मान अर्पण गर्नुभएको हो ।
राष्ट्रपति पौडेलले वरिष्ठ स्रष्टालाई पुरस्कार समर्पण गर्ने क्रममा प्रज्ञा( प्रतिष्ठानद्वारा प्रदान गरिएको सम्मान स्रष्टाहरुको दीर्घकालीन साधना, समर्पण र सिर्जनशीलताको प्रतीक भएको बताउनुभयो ।

सङ्गीत र कला केवल मनोरञ्जनको माध्यम मात्र नभएर चेतना र संस्कार बाहक भएको भन्नु हुँदै उहाँले सङ्गीत र नाट्यको माध्यमबाट संवेदनाको उजागर हुने, विचार सुसंस्कृत हुने र समाजलाई सकारात्मक रुपान्तरणको बाटोमा अग्रसर गराउने विचार व्यक्त गर्नुभयो ।
नेपाल जातजाति र सामुदायिक विविधताले सम्पन्न भएकाले सांस्कृतिक र नाट्य रुपमा विश्व चिन्तनको एक केन्द्र बन्ने गरी राज्य अघि बढ्नुपर्ने पनि उहाँले बताउनुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पुरस्कृत स्रष्टाहरुलाई बधाई र शुभकामना दिनु हुँदै पुरस्कारले पुरस्कृत स्रष्टाहरुको विगतको योगदान सम्मान गर्दै थप विकास र प्रगतिका लागि प्रेरित गर्ने र नयाँ पुस्तालाई सङ्गीत र नाट्यआदि अभौतिक संस्कृति हस्तान्तरण गर्दै प्रोत्साहित गर्ने पनि बताउनुभयो । मन्त्री पाण्डेले प्रज्ञा प्रतिष्ठानले प्रदान गरेको पुरस्कार सबै दृष्टिकोणबाट समावेशी भएकोले सिङ्गो राष्ट्र नै पुरस्कृत भएको अनभूति व्यक्त गर्नुभयो ।

प्रतिष्ठानकी कुलपति निशा शर्मा पोखरेलले विविधतापूर्ण एकता नै नेपाली समाजको विशेषता भएकोले त्यसलाई सुदृढ गर्न र राष्ट्रिय एकता र अखण्डतालाई मजबुत बनाउन संस्कृतिकर्मीको ठूलो भूमिका हुने बताउनुभयो ।
कला संस्कृतिका संवाहक कलाकर्मीलाई प्रोत्साहित गर्नु, दीर्घ साधक र श्रष्टाका योगदानलाई कदर गर्नु राज्यको दायित्व महसुस गरी प्रज्ञा प्रतिष्ठानले २०७१ सालबाट स्रष्टाहरुलाई पुरस्कृत गर्ने परम्परा शुरु गरेको उहाँले स्मरण गराउनुभयो ।
कुलपति शर्माले यसअघि ६ विधामा ६ जना स्रष्टालाई पुरस्कृत गर्दै आएकोमा यसै वर्षदेखि वाद्य वादन विधा र खोज अनुसन्धान विधामा एक एक जना र सङ्गीत र नाट्य विधामा आजीवन योगदान दिने एक वरिष्ठ स्रष्टालाई नेपाल सङ्गीत तथा नाट्य दीर्घ साधना सम्मानु प्रदान गर्न थालिएको पनि स्पष्ट पार्नुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्नु हुँदै प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भू राईले कलाकारको निरन्तर साधना र सृजनाले नै कलालाई जीवन्त बनाउने भएकोले कलाकारलाई सम्मान आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार २०८१ बाट सङ्गीत विधातर्फ वरिष्ठ गायिका कुन्ती मोक्तान, रङ्गमञ्च विधामा वरिष्ठ रङ्गकर्मी हरिबहादुर थापा, परम्परागत तथा शास्त्रीय सङ्गीत विधामा वरिष्ठ सङ्गीतज्ञ कुशेश्वरप्रसाद राई, लोकसङ्गीत विधातर्फ वरिष्ठ लोकगायक नारायण रायमाझी, नाट्यविधामा वरिष्ठ नाटककार वेदकुमारी न्यौपाने, नृत्य विधामा वरिष्ठ नृत्य निर्देशक भूवनदास श्रेष्ठ, खोज अनुसन्धान विधामा कृष्णप्रसाद पौडेल नृत्यानन्द र वाद्यवादन विधातर्फ वरिष्ठ तबलावादक राजु अग्रवाल सम्मानित हुनुभएको थियो ।

राष्ट्रिय प्रज्ञा पुरस्कारको राशी एक लाख एक रुपैयाँ र ताम्रपत्र तथा दीर्घ साधना सम्मानको दुई लाख एक रुपैयाँ र ताम्रपत्र रहेको पुरस्कार समर्पण समारोहका सहजकर्ता प्रज्ञा प्रतपष्ठानका सदस्यसचिव कुश्मा महरा प्रगतिले बताउनुभयो ।
कार्यक्रममा पुरस्कृत स्रष्टाका ताम्रपत्र प्राज्ञ परिषद् सदस्य र प्राज्ञसभा सदस्यबाट वाचन गरिएको थियो भने सम्माननीय राष्ट्रपतिको आग्रहमा पुरस्कृत स्रष्टा कुन्ती मोक्तानले आफ्ना दुई गायिका छोरी सुवानी मोक्तान र शीतल मोक्तानका साथ कोही भन्छन् जीन्दगी यो… बोलको गीतसमेत मञ्चमा प्रस्तुत गर्नु भएको थियो।




