काठमाडौँ, ६ असार : काठमाडौँमा प्रहरीले सडक तथा सवारीसाधन लक्षित मनसुनजन्य विपद न्यूनीकरण अभियान सुरु गरेको छ।
मनसुनजन्य विपद्का साथै सडकको अवस्थाबारे जानकारी दिने तथा सवारी चालक, परिचालक साथै यात्रुले पनि अपनाउनु पर्ने तयारी र सावधानीका विषयमा जानकारी दिने उद्देश्यले आज काठमाडौँको नयाँबसपार्कसहित उपत्यकाका १२ स्थानमा नागरिक सहायता कक्षको स्थापना गरी उक्त अभियानको शुभारम्भ गरिएको हो।
ती कक्षमार्फत ट्रापिकm प्रहरीले सडक तथा सवारीसाधन, चालक तथा यात्रु लक्षित मनसुनजन्य विपदका विषयमा जानकारी गराउने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो।
आज काठमाडौँको गोङ्गबुस्थित नयाँबसपार्कमा आयोजित अभियान शुभारम्भ समारोहमा काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँर, नेपाल यातायात स्वतन्त्र मजदुर संघका अध्यक्ष भीमज्वाला राई, नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक डा. गोविन्द थापा र यातायात व्यवसायीले मनसुनजन्य विपद्बाट सजग हुनुपर्नेमा जोड दिनुभएको थियो।
उपत्यका प्रहरी प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले मनसुनसम्बन्धी सूचना र सडकको अवस्थाबारे जानकारी लिएर यात्रा गर्दा थप सुरक्षित हुने बताउनुभयो।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष स्वाँरले ‘यसवर्ष वर्षा भारी मात्रामा हुने संभावना रहेकाले वर्षातको समयमा मनसुनसम्बन्धी समाचार र तथ्यगत सूचना लिएर मात्र यात्रा गर्न अनुरोध गर्नुभयो ।
काठमाडौँ उपत्यकाबाट छुट्ने लामो तथा मध्यम दुरीका सवारी साधनले नयाँबसपार्क, कलंकी, नागढुङ्गा, बल्खु, फर्पिङ, कोटेश्वर, भक्तपुर, चापागाउँ, साँखु, टोखा, तिनपिप्ले र भिमढुंगा गरी १२ वटा स्थानमा स्थापना गरिएका नागरिक सहायता कक्षबाट मनसुन जन्य प्राकृतिक प्रकोप (बाढि÷पहिरो) साथै सडकको अवस्था बारे जानकारी दिने तथा सवारी चालक, परिचालक साथै यात्रुले पनि अपनाउनु पर्ने तयारी र सावधानीका विषयमा जानकारी दिइने छ ।