काठमाडौँ, ३१ जेठ : नेपालका विभिन्न क्षेत्रमा पछिल्लो २४ घण्टामा चट्याङ लागेर १८ जनाजना घाइते भएका छन् ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार देशभर गरेर चट्याङबाट १८ जना घाइते भएका हुन् ।
संखुवासभा, मकवानपुर, स्याङ्जा, प्यूठान, अर्घाखाँची, रोल्पा, दाङ, सल्यानमा चट्याङका घटना भएको प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले बताउनुभयो ।
उहाँका अनुसार रोल्पामा मात्रै ८ जना घाइते भएका छन् । यहाँको बालकल्याण माविको प्राङ्गणमा चट्याङ पर्दा ६ जना बालबालिका घाइते भएका थिए भने रोल्पाकै त्रिवेणी गाउँपालिकाको डाफ्लामा एक घरमा परेको चट्याङबाट २ जना घाइते भएका हुन् ।
मकवानपुरको राक्सिराङमा २ जना, प्यूठानको ऐरावती गाउँपालिकामा २ जना, दाङको घोराही उपमहानगरपालिकामा २ जना चट्याङबाट घाइते भएका हुन् ।
बाँकी, संखुवासभाको सिलिचोङ गाउँपालिका, स्याङ्जाको गल्याङ नगरपालिका, अर्घाखाँचीको मालारानी गाउँपालिका, सल्यानको त्रिवेणी गाउँपालिकामा चट्याङबाट एक जना घाइते भएका छन् ।
यस्तै लेक लागेर रसुवामा १ जना र आगलागी हुँदा रुपन्देहीमा २ जना घाइते भएका पनि प्राधिकरणले जनाएको छ । विभिन्न जिल्लामा ३० वटा विपदका घटना भएको पनि प्राधिकरणले जनाएको छ ।