काठमाडौँ, ३० जेठ : हुम्लाको नाम्खा हिमपहिरोको अध्ययन गर्न गठित समितिले आज आफ्नो प्रतिवेदन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई बुझाएको छ ।
प्राधिकरणका सिनियर डिभिजनल इन्जिनियर सुशीलकुमार श्रेष्ठ संयोजकत्वको गठित अध्ययन टोलीले सिंहदरबारमा प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टलाई आफ्नो प्रतिवेदन बुझाएको हो ।
उक्त अध्ययन टोलीमा खानी तथा भूगर्व विभागका सिनियर डिभिजनल जिओलोजिस्ट शिवकुमार बास्कोटा र जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिस्ट सौहाद्र जोशी हुनुहुन्थ्यो ।
श्रेष्ठले भन्नुभयो, “आज हामीले अध्ययन प्रतिवेदन प्राधिकरणमा बुझाएका छौँ, त्यहाँ माथिको तालको हिउँ पग्लिएर तलबाट चुहिएर पानी निस्किएको पाइएको छ, ताल छेउमा एउटा ढिस्को पनि रहेको छ, त्यस ढिस्कोको दवाव पनि पर्न गयो र पानी निस्कियो ।”
उहाँले माथिबाट निस्किएको पानी भिरालो जमिन हुँदै बाहिरिँदा कटान हुँदै बाढीकारुपमा परिणत भएको पनि बताउनुभयो ।
सो क्षेत्रको कतिपय ठाउँ चर्किएको र ढुंगा खस्ने अवस्थामा रहेकाकले वर्षा हुँदा फेरि पनि बाढी आउनसक्ने सम्भावना भने कायमै रहेको अध्ययन टोलीले निष्कर्ष निकालेको छ ।
टोलीले हिमतालमै पुगेर अध्ययन गरेको थियो । त्यहाँ तीन वटा ताल भए पनि दुईवटाको मात्रै पानी निस्किएको पाइएको टोलीले बताएको छ ।
यही जेठ १ गते राति हुम्लाको नाम्खा गाउँपालिकामा भीषण बाढी आएको थियो जसका कारण यहाँको तिल गाउँ जोखिममा परेको छ ।