काठमाडौँ, २७ जेठ : काठमाडौँको टोखामा लागुऔषध कारोबारी खोजतलासमा खटिएको प्रहरी टोलीमाथि नै आक्रमण गरेपछि गोली हानेर उनीहरुलाई नियन्त्रणमा लिइएको छ ।
काठमाडौँ उपत्यकामा लामो समयदेखि लागूऔषध खैरो हेरोइन कारोबार भइरहेको भन्ने सूचना प्राप्त भएपछि खोजतलासका क्रममा आज २ बजे काठमाडौँ महानगरपालिका ११ सुन्धारास्थित सडकमा २ जनालाई नियन्त्रमा लिइएको थियो ।
उनीहरुसँग सोधपुछ गर्दा अन्य २ जना कारोबारी ग्राण्डी अस्पताल पछाडि लुकेर बसेको पत्ता लागेपछि प्रहरी टोली उनीहरुलाई नै प्रयोग गरेर ग्राण्डी पुगेको थियो ।
उनीहरुसँग लागूऔषधसमेत रहेको जानकारी पाएपछि ब्यूरोको टोली त्यहाँ दिउँसो ३ः१५ बजे पुगेको थियो । थप २ जनालाई नियन्त्रणमा लिने क्रममा प्रहरी टोलीलाई फलामको रडले प्रहार गर्न थालेपछि बाध्य भएर गोली चलाउनुपरेको लागूऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक जनकबहादुर शाहीले बताउनुभयो ।
सोक्रममा उनीहरुको रड प्रहारबाट प्रहरी वरिष्ठ हवल्दार नवराज घिसिङ र प्रहरी सहायक हवल्दार रवीन्द्र केसी घाइते भएका छन् । त्यसक्रममा प्रहरीले नियन्त्रणमा लिन ४ राउण्ड हवाई फायर गरेको थियो ।
हवाई फायर गर्दा पनि उत्तेजित भएर प्रहरीमाथि आक्रमण गर्न नछाडेपछि ३ राउण्ड गोली फायर गरी उनीहरुलाई नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो ।
पक्राउ पर्नेमा भारत पठाना दानपुरका २० वर्षीय सुमित कुमार, सोही ठाउँका २५ वर्षीय चन्दन कुमार जैसवाल, भारत पश्चिम बंगालका ४० वर्षीय शासिक आलम र विहारका २२ वर्षीय मोहम्मद मञ्जुर आलम रहेका छन् ।
गोली प्रहार गरी समातिएका आलमद्वयलाई बायाँ खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ । टोखा नगरपालिका ३ मा उनीहरुबाट स्पिकरभित्र लुकाएर राखेको अवस्थामा २०० ग्राम खैरो हेरोइन बरामद गरिएको जनाइएको छ ।