काठमाडौँ, २५ जेठ : राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले आज नक्सालस्थित ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८२’को भ्रमण गर्दै नेपालको संस्कृति, सम्पादहरुको संरक्षणमा ललितकलाको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ ।
उहाँले सातै प्रदेशबाट ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८१’मार्फत छानिएका कलाकृति ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८२’मा देख्न पाएको खुशी व्यक्त गर्दै नेपाल कलाका हिसावले निक्कै धनी रहेको प्रतिक्रिया दिनुभयो ।
दाहालले भन्नुभयो, “पहिलो कुरा त नेपाल कलामा कति धनी छ भन्ने कुराको यो एउटा प्रमाण हो । नेपाल पूरै घुम्नु परेन । सिङ्गो नेपालको कलाकृति, प्रतिभा र क्षमता यहाँ प्रदर्शन भएको छ भन्ने मलाई अनुभूत भएको छ ।”
उहाँले यस्ता कला र संस्कृतिलाई पर्यटनसँग जोड्न सकियो भने देशले अर्को एउटा महत्त्वपूर्ण फड्को मार्न सक्ने पनि बताउनुभयो ।
कलाको प्रचार, कलाको विकास गर्दा पर्यटनको विकास हुने बताउँदै उहाँले भन्नुभयो, “नेपाललाई आम्दानी हुने, रोजगारीको सिर्जना हुने यी खालका सबै विषयवस्तुलाई ठिक ढङ्गले व्यवस्थापन गर्नुपर्दछ । हाम्रो समस्या भनेको व्यवस्थापन हो । हामीसँग कला छ, संस्कृति छ । यसलाई व्यवस्थित तरिकाले प्रचार–प्रसार गर्ने कुरा हामीले काम ग¥यौँ भने धेरै राम्रो हुन्छ । कला हेर्न पाएकोमाम धेरै खुशी छु ।”
उहाँले अघिल्लो वर्ष पनि कलाकृति हेर्न आएको स्मरण गर्दै यसपटक विगतभन्दा तुलनात्मक रुपले विकास भएको पाएको पनि बताउनुभयो ।
ललितकला नेपालको धरोहर भएको उल्लेख गर्दै अध्यक्ष दाहालले नेपाली जनताका बीचमा यसका महत्व र आवश्यकताका बारेमा बोध गराउने काम गर्नुपर्ने र त्यसका निम्ति आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।
केही दिन अघि मात्रै सभामुख देवराज घिमिरेले पनि उक्त प्रदर्शनी अवलोकन गर्नुभएको थियो । सो क्रममा उहाँले नेपाललाई कलामार्फत विश्वमा परिचित गराउनुपर्नेमा जोड दिनुभएको थियो ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८१’ मार्फत छानिएका प्रतियोगी, अप्रतियोगी र आमन्त्रित कलाकृति गरी देशका ६५ जिल्लाका लोककला, शिल्प–हस्तकला, परम्परागत चित्रकला÷मूर्तिकला, वास्तुकला, समसामयिक÷आधुनिक चित्रकला÷मूर्तिकला, बहुआयामिक तथा अन्य सिर्जनात्मक कला, प्रतिस्थापन, भावभङ्गिमा, फोटोग्राफी, भिडियो आर्ट, डिजिटल, कार्टुनलगायतका विविध विधाका कला यहाँ प्रदर्शनीमा राखेको छ ।
उक्त प्रदर्शनीमा ६०५ कलाकारका ६५० भन्दा बढी कलाकृति समावेश गरेर ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८२’ को आयोजना गरेको हो ।
जेठ ३१ गतेसम्म चल्ने प्रदर्शनीमा ललितकलाका विविध विधाका साथै मुख्यतः थारू, अवधी, मिथिला, नेवार, पर्वते, भोजपुरी, तामाङ, राउटे, डोम, राई, किराँतका कलाको विशेष सहभागिता रहेको छ ।