काठमाडौँ, २४ जेठ : नेपालमा महको गुणस्तर वृद्धिमा जोड दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
काठमाडौँको भृकुटीमण्डपमा भएको छैटौँ राष्ट्रिय महमेला २०८२ का अवसरमा आज आयोजित परिसम्वाद कार्यक्रममा सहभागी सरकारी अधिकारी, मौरी विज्ञ, मह व्यवसायी र मह उत्पादक किसानहरुले यस्तो बताउनुभएको हो ।
‘नेपालमा महको गुणस्तरको अवस्था, राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारीकरणको सम्भावना, चुनौती र अवसर’ विषयका परिसम्बाद कार्यक्रममा सहभागीहरुले महको गुणस्तर वृद्धि हुँदै गएको र अझै बढाउनुपर्नेमा जोड दिनुभएको हो ।
नेपाल मौरीपालक महासंघका अध्यक्ष एवं मह मेलाका संयोजक सुवासचन्द्र घिमिरेले दीर्घकालीन सोचका साथ महको गुणस्तर वृद्धि गरी बजारीकरणका लागि धेरै प्रयास गरिएको बताउनुभयो ।
केह िवर्ष अघि बजार खस्कन थालेपछि गुणस्तरीय मह उत्पादनका लागि किसानलाई तालिमसमेत दिइएको बताउँदै उहाँले मौरीमा प्रयोग हुने सल्फरलाई समेत प्रतिबन्ध लगाइएको बताउनुभयो । उहाँले सुरुमा मह राख्न प्लाष्ट्रिकका जारहरु राखिनेमा अहिले फेरिएको र उन्नत भाँडामा राख्न थालिएको र स्टिलका चक्कु जालीहरु प्रयोग गर्ने गरिएको बताउनुभयो ।
बजारमा जानका लागि गुणस्तर चाहिन्छ भनेर नै विभिन्न संघ संघसंस्थाको पहलमा असल मौरीपालन अभ्यास कार्यान्वयन निर्देशिका बनाइसकिएको र अब कार्यान्वयनको चरणमा रहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “किसानहरु पनि अहिले धेरै सचेत भएका छन् । गुणस्तरको मह बनाइएन भने बिक्दैन भनेर ध्यान दिन थालेको छ । मह काड्ने बेला भयो, भएन भनेर छलफल गरेर गर्ने गरिएको छ, त्यसैले गुणस्तर वृद्धिमा जोड दिएको छ।”
मौरीविज्ञ जगदिशभक्त श्रेष्ठ मान्छेले चलायो हात लगायो भने मह बिग्रने तर प्राकृतिकरुपमा मह बनेको खण्डमा नविग्रिने बताउनुभयो ।
उहाँले भन्नुभयो, “मौरीले मह उत्पादन गर्ने प्रक्रियाको सुरुवातदेखि उपभोक्ताको घरमा पुग्दासम्म हामीले कस्ता क्रियाकलाप गरिरहेका छौँ भन्ने कुराले मह कत्तिको गुणस्तर छ भनेर निर्धारण हुने बताउनुभयो । समग्रमा नेपालको गुणस्तर हेर्न हो भने कुनै पनि देशको भन्दा गुणस्तर कम छैन ।”
नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेडका पूर्वअध्यक्ष अर्जुन पोखरेलले मौरीको मापदण्ड असल अभ्यास निर्देशिकामा रहेको जानकारी गराउँदै गुणस्तर मह उत्पादनमा बढी जोड दिन जरुरी रहेको बताउनुभयो ।
“अन्तराष्ट्रिय तहमा महको बजारीकरणका लागि अब नेपाली किसान पनि तयार हुनुपर्छ, त्यसतर्फ ध्यान दिऔँ । त्यसमा सरकारले पनि महत्वपूर्ण भूमिका खेल्नुपर्छ”, उहाँले भन्नुभयो ।
मह व्यवसायी गणेश घिमिरे विदेशमा नेपालीको महको बजार राम्रो गर्न सकिने बताउनुभयो । नेपालमा फूलको विविधता भएकाले पनि त्यही अनुसारको मह उत्पादन हुने गरेको र विदेशमा माग रहेको बताउनुभयो ।
सर्लाहीका मौरीपालक किसान हेमराज देवकोटा नेपालका मौरीमा सु्लसुले फैलिएको र यसले मौरी सखाप पार्नसक्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले मौरीका प्यूपा हेर्दा तालु थेप्चिएको जस्तो भएकाले यसबाट गुणस्तरयुक्त मह आउन मुस्किल हुने बताउनुभयो । उहाँले किसानहरुले राज्यबाट अनुदान सञ्चालन हुन्छ तर किसानले उत्पादन गरेको स्वस्थ्य मौरी राज्यले लिएर किसानलाई दिन नसक्नु विडम्बना भएको बताउनुभयो ।
उहाँले गुणस्तर मह उत्पादन गरेपछि बजार सुनिश्चित हुने हो भने हामी त्यही अनुसारको मह उत्पादन गर्ने बताउनुभयो ।
अर्का नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेडका उपाध्यक्ष कृष्णहरी जमर्कट्टेलले नेपाली उत्पादनको लागत कति भनेर अहिलेसम्म भन्न नसक्नु विडम्बना भएको बताउनुभयो । राज्यले मूल्यसमेत निर्धारण गर्न नसक्दा पनि समस्या भइरहेको उहाँले बताउनुभयो ।
नेपाल मौरीपालक महासंघका निवर्तमान अध्यक्ष शिवप्रसाद शर्मा पौडेलले पछिल्लो समयमा मापदण्ड नै लागू गरेर महको गुणस्तरमा जोड दिँदै आएको बताउँदै व्यवसायीहरुलाई गुणस्तर मह उत्पादन गर्न अनुरोध गर्नुभयो ।
बरु किसानलाई अनुदान नदिए हुन्छ तर अन्य सुविधा दिने र महको बजारीकरण गरे भने किसान त्यसैमा खुसी हुने उहाँले बताउनुभयो ।
व्यवसायिक किट विकास केन्द्रकी प्रमुख डा. सावित्री बराल मूल्य तोक्नका लागि प्रयास गरिएको तर किसानबाट तथ्यमा आधारित लागत प्रतिवेदन तथा विवरण नआउँदा समस्या परिरहेको बताउनुभयो ।
रोग किराका विषयमा परीक्षण गर्ने ल्यावहरु रहेको र नाष्ट पनि छ र नभए विदेशमा पनि लगेर परीक्षण गर्न सकिनेतर्फ ध्यानाकर्षण गराउँदै गुणस्तर मह उत्पादनमा जोड दिनु सुझाव दिनुभयो ।
गलत काम पनि भइरहेको र त्यस्ता व्यक्तिलाई किसानले नै समातेर बुझाउनुपर्नेमा जोड दिनुभयो । व्यवसायीले बनाएको मापदण्ड लागू गर्न उहाँले सुझाव दिनुभयो।
उहाँले बाहिरबाट भन्सार प्रक्रिया पूरा नभई मह आयात भइरहेको भन्ने विषयमा तथ्य र प्रमाणसहित जानकारी दिन अनुरोध गर्नुभयो । तर मिसावट गरेर मह बिक्री भइरहेको तर्फ उहाँले किसानहरुको ध्यानाकर्षण समेत गराउनुभयो ।
यसैबीच तीन दिनसम्म चलेको छैटौँ राष्ट्रिय मह मेला आज साँझ समापन गरिएको छ ।