काठमाडौँ, २३ जेठ : नेपाल मौरीपालक महासंघको तथ्यांकमा नेपालमा आजको मितिमा २१ टन मह बिक्री नभएर घरमा थक्निएको छ ।
मौरी विज्ञका अनुसार महको माग नभएर यसरी मह घरमा बसेको होइन । नेपाली महप्रति उभोक्तामा अझै पूर्ण विश्वास छैन भने बजारीकरणमा पनि समस्या छ ।
गत वर्ष यो बेला झण्डै ६९ टन मह स्टक थियो । त्यसपछि कृषि मन्त्री रामनाथ अधिकारीलाई मौरी किसान डेलिगेसनमै आएर दबाब दिएपछि केही सम्बोधन भयो ।
भिडिओ :
महको आयात केही समय होल्ड भयो, अनि डाबर नेपाललले पनि नेपाली किसानका मह किन्नेगरी सम्झौता भयो र ६९ टनबाट अहिले घटेर २१ टन मह स्टक रहन गएको हो ।
अझै महको बजारीकरणमा ध्यान पुग्न नसकेको किसानहरुको गुनासो छ । त्यसमाथि नेपाली मह जम्छ, तर यसरी मह जमेपछि यो नक्क्ली महको होकी भनेर नेपाली उपभोक्ताहरु किन्न हिच्किचाउने गरेको नेपाल मौरीपालक महासंघका अध्यक्ष सुवासचन्द्र घिमिरे बताउनुहुन्छ । त्यसैले महको बजार भएर पनि पाउन नसकेका मौरीपालक किसान बजारीकरणका लागि अहोरात्र खटिँदै आएका छन् ।
अध्यक्ष घिमिरे भन्नुहुन्छ, “त्यही शिलशीलामा हो हामीले अहिले भृकुटीमण्डपमा राष्ट्रिय महमेला आयोजना गरेको, मह र मौरी किसानलाई बजारसम्म जोड्न, व्यापारीलाई किसानसम्म पुर्याउन र उपभोक्तालाई महको रुप, गुण स्वाद जान्न बुझ्नका लागि हो, भोल जेठ २४ सम्म यहाँ आएर खरिद गर्न र जान्न सकिने छ ।”
उहाँ थप्नुहुन्छ, “मह जम्छ, जमेको मह खानुस् लोगो लागेको स्टीकर लागेको मह खानुस, जमेको मह शुद्ध हो भनेर उपभोक्तालाई बुझाउन नसक्दा समस्या छ ।”
मह किन जम्छ भनेर राससले सोधेको प्रश्नमा मौरी विज्ञ जगदीशभक्त श्रेष्ठ भन्नुभयो, “मह खास विरुवा, फूलबाट नेक्टर ल्याएर मौरीले मह बनाएको हुन्छ । जस्तै तोरीबाट मौरीले ल्याएर बनाएको मह चाँडै जम्छ । तर त्यो प्राकृतिक नै हो, अर्काे कुरा जब महलाई १३, १४ डिग्रीभन्दा कम भएपछि मह जम्छ, यो जम्नु महको प्राकृतिक गुण हो । यसमा मासिनले तताइदिने, अन्य केही मिसाइदियो भने मह जम्दैन, यो प्राकृतिबाट पनि टाढा जान्छौँ ।”
तताउँदा महको केही गुण नष्ट हुने समेत उहाँले बताउनुभयो । मौरी विज्ञ श्रेष्ठ उत्तम र शुद्ध मह नेपालमा उत्पादन हुने र दैनिक मह खानु शरीरका लागि पनि फाइदा हुने बताउनुहुन्छ । यो मेडिसिन मात्रै होइन न्युट्रेसनका लागि पनि खानुपर्छ । यसले शरीरमा शक्ति दिने र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने उहाँले बताउनुभयो ।
नेपाल मौरीपालक महासंघका निवर्तमान अध्यक्ष तथा चितवनको कालिकाका पौडेल वि फर्मका सञ्चालक शिप्रसाद शर्मा पौडेल विगतमा वर्ष मह किसान पलायन हुने अवस्थामा पुगेका बताउनुभयो ।
नेपाली किसानले उत्पादन गरेको मह बिक्री नभएपछि केन्द्र सरकारलाई दबाब दिँदा केही सम्बोधन भएको उहाँले बताउनुभयो । अझै बजारीकरणमा सरकारको ध्यान जानुपर्ने उहाँ बताउनुहुन्छ ।
“म भन्छु नेपाली किसानले उत्पादन गरेको मह नेपाली किसानबाटै लिनुस्, त्यो शुद्ध हुन्छ, कुन महको त्यो चिनेर बुझेर लिनुस्, त्यो मह पूर्ण शुद्ध हुन्छ नै”, पौडेलले भन्नुभयो, “नेपाली महको प्रकृति जम्नु हो, जमेको मह नक्क्ली हो की भन्ने शंशय छ, तर मह ढिलो चाँडो जम्छ नै, खासगरी तोरीको मह चाँडै जम्छ, बरु नजमेको मह नक्कली हुनसक्छ, सचेत हुनुस् ।”
चितवनन कालिका नगरपालिका शक्तिखोरका वि एण्ड वि मौरी फर्मका सञ्चालक विकास नेपालले भृकुटीमण्डपमा आएर मह मेलामा स्टल राख्नुभएको छ । उहाँ अहिले मेलाको समय नमिलेको तर यस्ता मेलाले महको बजारीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुहुनछ । उहाँले चाकासहितको लोकल मह बिक्री गर्दै आउनुभएको छ ।
नेपाल मौरीपालक महासंघका पूर्वअध्यक्ष, सागर मौरी फर्मका सञ्चालक राजेन्द्र गौतम नेपालमा जति खपत हुनुपर्ने हो त्यो जति उत्पादन हुन नसकेको तर उत्पादन भएको महले बजार पाउन पनि नसकेको बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “नेपाली मह गुणस्तरका हिसाबले राम्रो छ तर यहाँका उपभोक्तालाई बुझाउन सकेका छैनौँ की हाम्रो मह जम्छ, जम्ने वित्तिकै यो मह नक्कली हो भन्ने भ्रम छ, त्यसैले बजारीकरणमा समस्या छ । अर्काे कुरा नेपालको उत्पादनभन्दा खपत बढी छ, तर बिक्री हुँदैन ।”
सरकारी प्रयास पनि भएको र पहिलेको तुलनामा काम गर्छु भन्ने किसानलाई सरकारी तहबाट पनि सहयोग रहेको उहाँले अनुभव सुनाउनुभयो ।
नेपाली महको अन्तराष्ट्रिय बजार पनि राम्रो छ । तर न्यून मात्रामा बाहिर गइरहेको । मौरी विकास केन्द्र भण्डाराका प्रमुख सुजन अम्गाईँ गत साल ५ करोड बढीको नेपाली मह निर्यात भएको छ, यसले नेपालमा उत्पादित मह अन्तराष्ट्रिय बजारमा पनि पठाउन सकिन्छ भन्ने देखिएको बताउनुहुन्छ । विदेशका आआफ्नै मापण्डण्ड छ, मापदण्ड मिट भयो भने पठाउन समस्या नहुने उहाँले बताउनुभयो
उहाँले पछिल्लो समयमा मौरीको रानुलाई कृत्रिम गर्भाधानसमेत गराउने कार्यसमेत सफल भएको र यसले अब मौरीको उन्नत जात निकाल्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
अर्काे कुरा मौरी चराउन, समस्या छ । विषादीका कराण मौरी संरक्षण गर्न समस्या छ । मौरी चराउन जाँदा शुल्क लिइदिने पनि समस्या छ । यी विषय सम्बोधन जरुरी रहेको किसानहरु बताउँछन् ।
बजारमा किसान आफैँ मह उत्पादन गरेर बजार जान सक्दैनन् । सरकारबाट खाद्य अनुज्ञापत्र लिनुपर्छ । हरेक किसानले प्रोसेसिङ युनिट राख्न सक्दैन । त्यसैले पनि नेपाली मह नबिकेको किसानहरु गुनासो गर्छन् । नेपालमा मह स्टक छ तर झण्डै ४ हजार मेट्रिक टन बाहिरबाट आउने पनि उहाँहरु बताउनुहुन्छ ।
नेपाल मौरी पालन केन्द्रीय सहकारी संघकी अध्यक्ष जानुका थापा यी यावत समस्या बुझाउँदै र महको बजारीकरणका सन्दर्भमा मौरी पालन गर्ने किसानलाई एकै छानामुनी संगठित गर्ने, बजारीकरण गर्ने र मह र मौरीबारे जानकारी दिने प्रयासस्वरुप हरेक वर्ष महमेला गर्दै आइएको बताउनुभयो ।
भृकुटीमण्डपमा ४० वटा स्टलमा मह, घार, पोलन, प्रपोलिस, टोपी, ब्रसलगायतका सामाग्री पनि प्रदर्शनमा रहेको छ । सातै प्रदेशका किसानहरु यहाँ आएका छन् । महसम्बन्धी छलफल कार्यक्रम समेत आयोजना गरिएको छ ।
मह मेलाका संयोजक सुवासचन्द्र घिमिरे यहाँ मौरीपालनको क्षेत्रमा प्रयोग हुने प्रविधि, मौरीका विभिन्न प्रजातिका बारेमा र महसम्बन्धी जानकारी पाइने बताउनुहुन्छ ।
प्रजाति अनुसार मह फरक हुन्छ । गुण, स्वाद, रंग फरक हुन्छ । नेपालमा महासंघका आवद्ध भएका किसानको वार्षिक उत्पादन करिब ५ हजार मेट्रिक टन उत्पादन छ ।
मासंघसँग आवद्ध किसानहरुले यो वर्ष काेशीमा मात्रै २२६ टन मह उत्पादन गरेका छन् ।नेपालमा सेरेना मौरीको गोला १२ हजार १३८ वटा छ भने मेलिफेराको ६ हजार ५०० गोला छ ।
सेरेना पाल्ने किसान ७११ जना र मेलिफेरा मौरी पाल्ने किसान २७० जना महासंघमा आवद्ध रहेका छन् । आवद्ध नरहेर पनि मौरी पालन गर्ने किसानहरु छन् ।