काठमाडौँ, १९ जेठ : नेकपा (माओवादी केन्द्र)को संसदीय दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसद अवरोध जारी राख्ने निर्णय गरेको छ ।
संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको उक्त बैठकले यस्तो निर्णय गरेको पार्टीका उपमहासचिव वर्षमान पुनले जानकारी दिनुभयो । उहाँले भोलि संसद बैठक बस्नु अघि विपक्षी दलको बैठक बस्ने पनि जानकारी दिनुभयो ।
नेता पुनले भन्नुभयो, “उहाँमाथि प्रश्न उठिसकेपछि नैतिकताको आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गर्दा उपयुक्त हुन्छ, यो विपक्षीले भनिरहेका छैनन्, आमजनताले मिडियाले भनिरहेका छन्, त्यसैले उहाँले राजीनामा दिएर अख्तियारलाई छानबिनमा सहयोग गर्नुपर्छ ।”
भिडिज भिसाको सन्दर्भमा सेटिङ भएको र अनियमितता भएको स्पष्ट तथ्य स्थापित रहेकाले त्यस विषयमा छानबिन हुनुपर्ने दलको बैठकले आज स्पष्ट निर्णय भएको पनि उहाँले जानकारी दिनुभयो ।
उहाँले अहिलेसम्म सबै कोणबाट हेर्दा गृहमन्त्रीले राजीनामा दिने विषयबाट माओवादी नहटेको र को तानिन्छ भन्ने विषयमा अनुसन्धान गरेपछि मात्रै थाहा हुने बताउनुभयो ।
“तर आजको विषयलाई विषयन्तर गर्न हुँदैन, आजको तथ्य स्थापित छ की अनियमितता भएको छ, हजारौँ मान्छेलाई सेटिङमा पठाइएकोे छ, जो सेटिङमा परेनन् उनीहरुलाई फिर्ता गरिएको छ, दुख पनि दिइएको छ”, पुनले भन्नुभयो, “गृहमन्त्रीलाई दोषी भनिएको छैन, छानबिनका लागि उहाँले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ भन्ने नै दलको निर्णय भएको छ ।”