काठमाडौँ, १८ जेठ : काठमाडौँ प्रशासनले जिल्लाको शान्ति सुरक्षा तथा सार्वजनिक सेवालाई ध्यानमा राखेर तोकिएको ठाउँमा बाहेक अन्य क्षेत्रमा अनसन, धर्ना, घेराउ, जुलुस प्रदर्शन जस्ता कार्यक्रम गर्न नपाउने गरी आदेश जारी गरेको छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सिंफल चौर क्षेत्र, कोटेश्वर आकाशे पुलदेखि दक्षिण बालकुमारीतर्फको क्षेत्र र बल्खु क्षेत्रबाहेक अन्य क्षेत्रमा अनसन, धर्ना, घेराउ, जुलुस प्रदर्शन जस्ता कार्यक्रम गर्न निषेध गरिएको जानकारी दिनुभयो ।
काठमाडौँ प्रशासनले जिल्लाको चक्रपथ र चक्रपथ भित्रका सार्वजनिक स्थानमा भेला÷जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस प्रदर्शन तथा सभालगायतका विरोधका कार्यक्रमहरू आयोजना गर्दा अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह र सार्वजनिक यातायात सञ्चालनमा कठिनाई भएको भन्ने जनगुनासो समेतलाई मध्यनजर गर्दै उक्त आदेश जारी गरेको जनाएको छ ।
प्रजिअ तिवारीद्धारा आज साँझ जारी आदेशमा त्यस्ता कार्यक्रम आयोजना गर्दा अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह र सार्वजनिक यातायात सञ्चालनमा कठिनाई भएको भन्ने जनगुनासो आाएको तथा सार्वजनिक सम्पत्ति र समग्र शान्ति सुरक्षामा असर पर्न जाने अवस्था देखिएकोले जिल्ला सुरक्षा समिति काठमाडौँको सिफारिससमेतका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम जेठ १९ गतेदेखि लागु हुने गरी तोकिएको स्थानबाहेकमा अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको उल्लेख छ ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट जारी भएको उक्त आदेश आउँदो २ महिनासम्म कायम रहने जनाइएको छ ।
