काठमाडौँ, १७ जेठ : नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्साल काठमाडौँमा आज लोपोन्मुख समुदाय राउटे काठको पन्यू बनाएर प्रदर्शन गरेका छन् ।
यहाँ जारी राष्ट्रिय ललितकला प्रदर्शनी २०८२ मा सहभागी राउटेले आज प्रत्यक्ष कला कार्यशाला (लाइभ आर्ट डेमोस्ट्रेसन) मा आफ्ना रैथाने कला प्रस्तुत गरेका हुन् । उनीहरुको यो हस्त तथा शिल्पकला दैनिक जीवनमा प्रयोग हुँदै आएको छ ।
ललितकला प्रदर्शनीको इतिहासमै पहिलो पटक काठमाडौँ आएर प्रत्यक्ष कला सिर्जनामा सहभागी भएका उनीहरु ४ जनाको समूहमा काठमाडौँ आएका छन् । उनीहरुले यसअघि शुक्रवार कोसी (आरी) बनाएर देखाएका थिए भने आज पन्यू बनाएका प्रदर्शन गरेका हुन्।

उनीहरुले बनाएका काठका हस्तकलामा यहाँ अवलोकनका लागि आएका कलापारखीहरु लोभिएका छन् । कला पारखीले राउटेका कलाको तस्वीर मात्रै कैद गरेका छैनन् खरिद गरेर पनि लगेका छन् ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले यसरी लुकेर रहेको राउटेका कलालाई पहिलो पटक संघीय राजधानीमा ल्याएर प्रदर्शन गर्ने अवसर दिएको हो ।
यसबाट उनीहरुको कलाको संरक्षणका साथै व्यवसायिकरणमा समेत सहयोग पुगने विश्वास गरिएको राष्ट्रिय ललितकला प्रदर्शनी २०८२ का संयोजक प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले बताउनुभयो ।
यसरी कला बनाउन दीपक शाही र धयर शाही आएका छन् । उनीहरुका साथमा बाटुली र सुरमानी शाही पनि हुनुहुन्छ । महिला राउटेले भने हातले चोलो नै बनाएर आफ्नो कला प्रस्तुत गरेका छन् ।
“सधैँ गरिरहेको काम, काठमाडौँ आएर बनायौँ, हामी पैसा लिएर बेच्छौँ”, दीपक शाहीले भन्नुभयो, “काठमाडौँ अली गर्मीगर्मी रैछ, हामी भोलि जान्छौँ ।” उहाँले आफूहरुले डाडु पन्यू, सन्दुक, कोशी बनाउने र बेच्ने गरेको पनि बताउनुभयो । उहाँले काठमाडौँ आएर कला बनाउन पाउँदा खुसी भएको प्रतिक्रिया पनि दिनुभयो ।
गएको फागुनमा कर्णाली प्रदेशमा भएको कला प्रदर्शनीमा राउटेका कला प्रदर्शनी भएको थियो । त्यही प्रदर्शनीबाट जोडिएका राउटेहरुलाई पहिलो पटक काठमाडौँ ल्याएर कला सिर्जनामा सहभागी गराइएको प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र काफ्ले थुम्केलीले बताउनुभयो ।
काठमाडौँको प्रदर्शनीमा सूर्यनारायण शाहीले बनाएको पिर्का र ढकनसहितको कोसी, लोकेन्द्र शाहीले बनाएको डाडु, बन्दावीर शाहीले बनाएको कोसी र ढकन, दीपक शाहीले बनाएको सन्दुक, खगेन्द्र शाहीले बताएको डाडु, धयर शाहीले बनाएको पन्यूँ राखिएको छ ।
यसपालि हस्त शिल्पकलामा उहाँहरुले बनाएको कलाले प्रादेशिक पुरस्कार प्राप्त गर्न समेत सफल भएको छ । उक्त पुरस्कारको राशि ३० हजार रहेको छ ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रदर्शनीमा देशका ६५ जिल्लाका लोककला, शिल्प–हस्तकला, परम्परागत चित्रकला÷मूर्तिकला, वास्तुकला, समसामयिक÷आधुनिक चित्रकला÷मूर्तिकला, बहुआयामिक तथा अन्य सिर्जनात्मक कला, प्रतिस्थापन, भावभङ्गिमा, फोटोग्राफी, भिडियो आर्ट, डिजिटल, कार्टुनलगायतका विविध विधाका प्रतियोगी, अप्रतियोगी र आमन्त्रित कलाहरु प्रदर्शनीमा रहेको बताउनुभयो ।
उहाँका अनुसार प्रदर्शनीमा राउटे डोम समुदायका सहित ६०५ कलाकारका ६५० भन्दा बढी कलाकृति समावेश छन् । जसमा मुख्यतः थारू, अवधि, मिथिला, नेवार, पर्वते, भोजपुरी, तामाङ, राउटे, डोम, राई, किरातका कलाको विशेष सहभागिता रहेको छ । यहाँ कला प्रदर्शनी यही जेठ ३१ गतेसम्म जारी रहने छ ।