काठमाडौँ, १४ जेठ : नेपालमा चालु आर्थिक वर्षको पछिल्लो १० महिनामा शान्ति सुरक्षा खलल पार्ने खालका विरोध तथा प्रदर्शनका घटनामात्रै ४ हजार ७० वटा घटेको छ ।
नेपाल प्रहरीका अनुसार ती घटनाहरु मध्ये सबैभन्दा बढी (कुल घटनाको आधा) २ हजार ८९ घटना विरोध र्याली र प्रदर्शनका घटना भएका छन् ।
यस्तै हडतालका १२, चक्काजाम १२, तालाबदी ८१६ र धर्नाका घटना ८१६ वटा भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले जानकारी दिनुभयो ।
यसैगरी अनसनका घटना १३४, बाटो अवरुद्धका ११८, सवारी साधन तोडफोड ३१ र सवारी आगजनीका ७६ वटा घटना भएको प्रवक्ता थापाले बताउनुभयो । यी घटनाहरु गएको साउनदेखि वैशाखसम्मका हुन् ।
ती घटनाहरुबाट ४० करोड, ७५ लाख ११ हजार बराबरको भौतिक क्षति भएको छ । यस्तै ९ करोड ५१ लखको सावरी साधन क्षति भएको प्रहरीले जानकारी दिनुभयो ।
कुल ६६६ जना पक्राउ
शान्ति सुरक्षा खलल पार्ने ती घटनाहरुमा संलग्न ६६६ जनालाई प्रहरीले पक्राउ गरी कानुनी दायरामा ल्याएको छ । पक्राउ परेकामध्ये १३६ जनामाथि कारबाही नै भएको प्रवक्ता थापाले बताउनुभयो ।
जसमा ६५ जनालाई संगठित अपराध, २७ जनालाई राज्यविरुद्ध र संगठित अपराधमा मुद्दा चलाइएको छ ।
यस्तै २४ जनालाई अभद्र व्यवहारमा, १८ जनालाई हुल्दंगा गर्न नहुने र आपराधिक उपद्रवको कसुर र २ जनालाई आपराधिक उपद्रवको कसुरमा मुद्दा चलाइएको प्रवक्ता थापाले बताउनुभयो । बाँकी ५३० जनालाई भने सामान्य तारिखमा छाडिएको पनि उहाँले बताउनुभयो ।
उहाँले स्वतन्त्रपूर्वक आफ्ना कुरा सभ्य शैलीमा राख्न पाइने तर शान्ति सुरक्षा खलल पार्ने कुनै पनि घटना हुन नदिन प्रहरी कडाइका साथ प्रस्तुत हुने बताउनुभयो ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले उपत्यकाको शान्ति सुरक्षामा सादा पोशाकसहितका प्रहरी टोली परिचालन भएको र कुनै पनि अवाञ्छिछ, हिंसा भड्किने, समाज तथा सार्वजनिक स्थानको शान्ति सुरक्ष खलल पार्ने गतिविधिहरु नगर्न अनुरोध गर्नुभएको छ ।
यस्ता गतिविधिविरुद्ध प्रहरी कडाइका साथ प्रस्तुत हुने पनि उहाँले बताउनुभयो ।