काठमाडौँ, १३ जेठ : देशभर पछिल्लो एक महिनामै आगलागीबाट ११ जनाले ज्यान गुमाएका छन् । जसमा ३ पुरुष, ५ महिला २ बालक र १ बालिका छन् ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले गएको वैशाख महिनाको तथ्यांक विष्लेषण गर्दा सो अवधिमा आगलागीबाट ६७ जना घाइते भएको पनि जानकारी दिनुभयो । घाइते हुनेमा २७ जना पुरुष, ३२ जना महिला ८ बालबालिका छन् ।
आगलागीका घटनामा बढोत्तरी भएसँगै ठूलो भौतिक तथा मानवीय क्षति हुने गरेको उहाँले बताउनुभयो । नागरिक सचेत भए पनि घेरै घटना रोक्न सकिने जनाइएको छ ।
प्रहरीले एक महिनामा आगलागीबाट १५१ वटा घर, १०१ वटा गोठ र ३ वटा ससरकारी कार्यालयमा क्षति पुगेको जानकारी दिएको छ । आगलागीबाट १८९ पशुचौपाय समेत मरेको छ ।
ती आगलागीका घटनाबाट २४ करोड, १९ लाख ५९ हजार बढीको आर्थिक क्षति पनि भएको प्रहरीको तथ्यंकमा उल्लेख छ ।
आगलागीबाट ११० परिवार विस्थापित नै भएका छन् । एक महिनामै ६३४ वटा आगलागीका घटना भएको पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
कुन प्रदेशमा कति आगलागीका घटना?
प्रहरीका अनुसार वैशाख महिनामा सबैभन्दा बढी आगलागीका घटना लुम्बिनी प्रदेशमा भएको छ ।
उक्त प्रदेशमा १४३ वटा आगलागीका घटना भएको छ । त्यसपछि १३६ वटा आगलागीका घटना कोशी प्रदेशमा भएको छ । यस्तै १०४ वटा आगलागीका घटना मधेश प्रदेशमा भएको पनि प्रवक्ता थापाले बताउनुभयो ।
यस्तै बागमतीमा ६४, काठमाडौँ उपत्यकामा ३२, गण्डकी प्रदेशमा ५३, कर्णाली प्रदेशमा ४३ र सुदुरपश्चिम प्रदेशमा ५९ वटा आगलागीका घटना भएको प्रहरीले जानकारी दिएको छ ।
धेरै आगलागकिा घटना मानवीय कारणले हुने गरेको आगलागीविज्ञहरुले बताउँदै आएका छन् ।