काठमाडौँ, ९ जेठ : नेपालमा घट्ने प्रमुख १० अपराधमध्ये सबैभन्दा बढी बैंकिङ कसुरका मुद्दा दर्ता भएको छ । प्रहरी प्रधान कार्यालयले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो ।
प्रहरीले छुट्याएको मुख्य १० अपराधमा बैंकिङ, कसुर, सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र सुविधासम्बन्धी अपराध, आत्महत्या, लागुऔषध, चोरी, जबरजस्ती करणी, ठगी, सवारी ज्यान, ज्यान मार्ने उद्योग र बहुबिवाह रहेका छन् ।
ती कसुरहरुमध्ये सबैभन्दा बढी बैंकिङ कसुरका मुद्दामात्रै ११ हजार ४८ रहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त विवरण पछिल्लो १० महिनामा घटेका घटनाको उजुरीका आधारमा तयार पारिएको हो । त्यसपछि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र सुविधासम्बन्धी कसुरमा ६ हजार ८८४ वटा मुद्दा दर्ता भएको छ ।
त्यसपछि लागुऔषधका ४ हजार ४१, चोरीका २ हजार ९४०, जबरजस्ती करणीका १ हजार ८२८, ठगीका १ हजार ७५०, सवारी ज्यानसम्बन्धी, १ हजार ५५७, ज्यानमार्ने उद्योगमा ८९४ र बहुबिवाहसम्बन्धी ४५४ वटा मुद्दा दर्ता भएको प्रहरीले जानकारी दिएको छ ।
प्रवक्ता थापाले आज सार्वजनिक गरेको विवरणमा कुल ४६ हजार ८८९ मुद्दा दर्ता भएकामा प्रमुख १० अपराधका मात्रै ७८.५१ प्रतिशत रहेको जानकारी दिनुभयो ।
उहाँले उक्त तथ्यंक विष्लेषण गर्दा प्रतिदिन नै अपराधसम्बन्धी १५६ वटा मुद्दा दर्ता हुने गरेको बताउनुभयो ।
कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक थापाले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिँदै जनचेतना, प्रहरीको सक्रियता तथा प्रहरीप्रतिको विश्वासमा अपराधको उजुरी दिने क्रम बढेको तथ्याङ्कले देखाएको दावी गर्नुभयो ।
संगठित अपराधमा संलग्न व्यक्तिहरूलाई कानूनी दायरामा ल्याउन नेपाल प्रहरी सदैव कटिबद्ध रहेको उल्लेख गर्दै उहाँले कुनै पनि व्यक्ति प्रहरी कार्यालयमा जाँदा उनीहरूको गुनासो सम्बोधनलाई प्राथमिकतामा राखेर प्रहरी सेवा प्रवाह हुने बताउनुभयो ।
कार्यक्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले उठेका प्रश्नको जवाफ दिँदै प्रहरी कर्तव्य निर्वाहमा कुनै कमजोरी नहोस् भनेर सधैँ सजक भइरहने बताउनुभयो ।