काठमाडौँ, ७ जेठ : यसवर्षको मनसुनमा सरदर भन्दा बढी वर्षा हुने आँकलन आज सार्वजनिक गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी पानी पर्ने संभावना रहेको जानकारी गराएको हो ।
विभागले कर्णाली प्रदेशको पूर्वीभूभाग, लुम्बिनी प्रदेशको उत्तरी भूभाग र गण्डकी प्रदेशको अधिकांश भूभाग वर्षाबाट बढी प्रभावित हुन सक्ने पनि उल्लेख गरेको छ ।
आज आयोजित राष्ट्रिय मनसुन फोरममार्फत विभागले अधिकतम तापक्रम पनि सरदर भन्दा बढी हुने प्रक्षेपण गरेको छ ।
जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना रहेको तथा अधिकतम तापक्रम र न्यूनतम तापक्रम समेत देशभर सरदर भन्दा बढी रहने सम्भावना रहेको विभागकी प्रवक्ता विभूति पोखरेलले जानकारी दिनुभयो ।
मौसमविज्ञान विभागले अहिले प्रिमनसुनमा वर्षा भएर जमिन गलिसकेकाले मनसुनको सुरुवातमै सानो पानी पर्दा पनि जोखिम बढी हुने जानकारी गराएको छ ।
यसका लागि बेलैमा सबै निकायबीचको समन्वयमा पूर्व तयारी तथा प्रतिकार्य योजना प्रभावकारी बनाउनुपर्नेमा मौसमविद्ले जोड दिएका छन् ।
वर्षाको आँकलन
यस मनसुन ऋतुमा कर्णाली प्रदेशको पूर्वी भूभाग, लुम्बिनी प्रदेशको उत्तरी भूभाग र गण्डकी प्रदेशको अधिकांश भूभागमा सरदरभन्दा बढी वर्षा हुने संभावना ५५.५ देखि ६५.५ प्रतिशत रहेको जनाइएको छ ।
सुदुरपश्चिम प्रदेशको दक्षिणी भूभाग, लुम्बिनी प्रदेशको पश्चिमी भूभाग, गण्डकी प्रदेशको उत्तरपूर्वी भूभाग, बागमती र कोशी प्रदेशको उत्तरी भूभागमा सरदरभन्दा बढी वर्षा हुने संभावना ४५.५ देखि ५५.५ प्रतिशत रहेको छ ।
त्यसैगरी मधेश प्रदेशका पूर्वी तथा दक्षिणी भूभागमा सरदर वर्षा हुने सम्भावना ३५.५ देखि ४५.५ प्रतिशत रहेको छ भने देशका बाँकी भूभागमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ३५.५ देखि ४५.५ प्रतिशत रहेको छ । विभागले मनसुन ऋतुको वर्षाको आँकलन जेठ १८ देखि असोज १४ सम्मको रहने जनाएको छ ।
अधिकतम तापक्रमको आँकलन
यस्तै विभागले अधिकतम तापक्रम सुदुरपश्चिम प्रदेशको उत्तरपूर्वी भू(भाग, कर्णाली प्रदेशको उत्तरी भूभाग, लुम्बिनी प्रदेशको उत्तरी भूभाग, गण्डकी प्रदेशको पश्चिमी भूभाग, मधेश प्रदेशको पश्चिमी भूभाग र बागमती प्रदेशको मध्य भूभागमा सरदरभन्दा बढी अधिकतम तापक्रम रहने संभावना ५५.५ देखि ६५.५ प्रतिशत रहेको जनाएको छ ।
त्यसैगरी मधेश प्रदेशको पूर्वी भूभाग र गण्डकी प्रदेशको मध्य भूभागमा सरदरभन्दा बढी रहने संभावना ३५.५ देखि ४५.५ प्रतिशत रहेको छ र देशका बाँकी भू.भागमा अधिकतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ४५.५ देखि ५५.५ प्रतिशत रहेको आँकलन गरिएको छ ।
न्यूनतम तापक्रमको आँकलन
न्यूनतम तापक्रम कर्णाली र बागमती प्रदेशका अधिकांश भू–भाग, लुम्बिनी प्रदेशको मध्य भू–भाग, मधेश प्रदेशका पश्चिमी भू–भाग र कोशी प्रदेशको तराई भू–भागमा सरदरभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको जनाइएको छ ।
त्यसैगरी सुदुरपश्चिम प्रदेशको दक्षिण–पश्चिमी भू–भाग, गण्डकी प्रदेशको उत्तर–पूर्वी भू–भाग र कोशी प्रदेशको उत्तरी भू–भागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ रहेको छ भने देशका बाँकी भू–भागमा न्यूनतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ ।