काठमाडौँ : हिम पहिरोले हुम्लाको लिमी उपत्यकाको तील गाउँ उच्च जोखिममा परेको छ।
बुधवार राति आएको बाढीको कारण खोज्दै माथिल्लो तटीय क्षेत्रमा पुगेका सुरक्षाकर्मीसहितको स्थानीयको टोलीले सिरानमा रहेका दुई हिम पोखरी फुटेको अनुमान लगाएका छन् ।
४ दिनसम्म केन्द्र र स्थानीय सरकारले बाढीको कारण पत्ता लगाउन चासो नदिएपछि नाम्खा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष पाल्चोर तामाङ केही स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा थाक्रा पुगेका थिए।
अध्यक्ष सहितको टोली पहिरोको कारण खोज्दै ८ घण्टा पैदल दूरी पार गर्दै ५ हजार ३ सय मिटरको उचाइमा रहेको थाक्रा पुगेको हो। हिल्सास्थित सीमा सुरक्षामा तैनाथ सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका १० जना सहित स्थानीय उचाइमा रहेको थाक्रा पुगेका हुन्। लिमीमा कुनै पनि सुरक्षानिकायको उपस्थिति छैन। उनीहरू दक्ष प्राविधिक टोली र उपकरणबिना नै उच्च स्थानमा पुगेका हुन्।
पहिरोका कारण गाउँ पुग्ने सबै संरचना तहसनहस भएको छ। गाउँलाई बाढीले तीनतिरबाट कटान गरिरहेको छ। १९ घरपरिवारका ३३ जना बसोवास गर्दै आएको तील गाउँमा बुधवार राति लेदो सहितको बाढी आएको थियो। पहिरोले हाल्जी र हिल्सा तर्फको बाटो र पुल भत्काएको छ।
सेखाङलुङबा खोलामा आएको बाढीले बस्तीतर्फ र तिल्जुङखोलामा आएको बाढीले विद्युतीय पावरहाउस भत्काउनुको साथै हिल्सा जाने बाटो भत्काएको हो। त्यस वरपरको अन्य संरचना पनि भत्काएको छ। पहिरोले बाटो भत्काएर पोखरी जस्तो दह बनाएको वडा नम्बर ६ का पाल्जोर तामाङले जानकारी दिए।
कुञ्जोक फुर्बु लामा भन्छन्‚ ‘हामी ५ जना ८ घण्टा हिँडेर यहाँ आयौँ। अहिले ५ हजार ३ सय मिटर उचाइमा छौँ। यहाँ दुईवटा हिमताल रहेछन्। माथि बरफ (हिउँ)को तल पानी रहेछ। त्यो पानी जमिन मुनिबाट निस्केर तल गएको देखियो। त्यही पानीले घटना गराएको रहेछ भन्ने हामीलाई लागेको छ।’
हुम्लाको नाम्खा गाउँपालिका भित्र लिमि उपत्यकाभित्र पर्ने तील गाउँ सबैभन्दा विकट गाउँ हो। यो गाउँमा समय समयमा यसअघि पनि हिमपहिरो आउने गरेको थियो। मनसुनपूर्वको यो बाढी र कटानले गाउँ बगेर जाने जोखिम देखिएको छ।