काठमाडौँ, ३० वैशाख : लोककला र शिल्पज्ञानलाई पुस्तान्तरण गर्नुपर्नेमा आज काठमाडौँमा भएको एक अनतरक्रियाका सहभागीहरुले जोड दिएका छन् ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र ब्रिटिस काउन्सिलको सहकार्य तथा युनेस्कोको आयोजनामा आज काठमाडौँमा ‘क्राफ्ट एन्ड फोल्क आट्स’का विषयमा नक्सालमा भएको अन्तरक्रियामा उहाँहरुले मौलिक कलाको पुस्तान्तरण गरी संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा युनेस्कोका नेपाल प्रतिनिधि याको दु तोइतले लोककला तथा क्राफ्ट विधालाई समेटेर गरिएको यो बहसले प्रारम्भिक आधारभूत तथ्याङ्क दिने छ भन्ने कुरामा विश्वस्त रहेको बताउनुभयो । उहाँले यस्ता कलाको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले प्रतिष्ठानको कार्ययोजना, रणनीति तथा भावीयोजनालगायतका विषयमा चर्चा गर्दै लोककला तथा शिल्पज्ञानलाई समयसापेक्षित रूपमा अद्यावधिक गराउँदै यसको संरक्षण, संवद्र्धन तथा पुस्तान्तरण गर्दै हरित अर्थतन्त्रमा जोड्ने कुरामा सबै प्रतिबद्ध हुनुपर्ने बताउनुभयो ।
उहाँले लोककला, शिल्पको ज्ञान तथा सिपको विकास र पुस्तान्तरणमा जोड दिँदै प्राज्ञिक तथा बौद्धिक बहसलाई जोड दिनुभयो ।
“सभ्यता र संस्कृतिको आधार पहिचान भएकाले समुन्नत विश्व समाज बनाउने लक्ष्य र यो लक्ष्यलाई पूरा गर्न यो कार्यक्रम महŒवपूर्ण प्रस्थानबिन्दु बन्न सक्छ”, उहाँले भन्नुभयो ।
समारोहमा युनेस्कोका राष्ट्रिय कार्यक्रम अधिकृत तथा संस्कृति विभाग प्रमुख नभा बस्न्यात थापा, ब्रिटिस काउन्सिलका कला विभाग प्रमुख न्हुजा तुलाधरलगायतले लोककलाको संरक्षणमा जोड दिनुभएको थियो ।
कार्यक्रममा ४० भन्दा बढी लोक तथा शिल्पकलाका क्षेत्रमा सक्रिय कलाकार तथा सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहको थियो ।