काठमाडौँ : नेपालको पश्चिमी भूभागबाट आज पानी पार्ने बादल विकसित भएर पूर्वतर्फ सरिरहेको र ठाउँठाउँमा वर्षा भएरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले अझै केही दिन बदली कायम रहने जानकारी गराउँदै सावधानी अपनाउन अनुरोध गर्नुभएको छ ।
अहिले साँझ गण्डकी प्रदेश गोरखाको हिमाली तथा पहाडी भेगबाट र दार्चुलास्थित सीमा क्षेत्रबाट सुदरपश्चिमको हिमाली तथा पहाडी क्षेत्रको बाटो हुँदै बादल छिरिसकेको पनि उहाँले बताउनुभयो । बादल हिँडेको बाटोमा वर्षा भइरहेको छ ।
अहिले नेपालमा स्थानीय र पश्चिमी वायु विकसित छ । अहिले पनि लुम्बिनी र गण्डकीका थोरै भूभागमा पानी परिरहेको छ । आज दिउँसो बागमती, गण्डकी, मधेश प्रदेश सुदुरपश्चिमलगायत हरेक प्रदेशका केही भागमा पानी परेको जनाइएको छ । तर बागमती र गण्डकीमा अली बढी पानी परेको पनि अधिकारीले राससलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार भोलि र पर्सी पनि बदली नै रहेको र आजको भन्दा केही बढी बदलीको सम्भावना रहेको छ । हद्यका देखि मध्यामसम्म पानी पर्ने तर ठूलो वर्षाको सम्भावना भने कम छ ।
अधिकारीले भन्नुभयो, “भोलि कोशी प्रदेशलगायत हिमाली तथा पहाडी भूभागमा पानी पर्छ, अली बढी कोशीमा पर्ने सम्भावना छ ।”
वर्षा नभएको ठाउन्मा पनि बदली कायम रहने भएकाले गर्मीबाट भने केही राहत मिल्ने मौसमविद्ले बताएका छन् । अधिकारीका अनुसार आउँदो हप्ता केही सुधारिए पनि बदलीकै अवस्थामा रहने बताइएको छ ।