काठमाडौँ, १६ वैशाख : नेपाली लेखक सङ्घले आज आख्यानकार डा. ध्रुवचन्द्र गौतमलाई दोस्रो राष्ट्रिय लेखक पुरस्कारबाट सम्मन गरेको छ ।
काठमाडौँस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित एक समारोहका बीच उहाँलाई रु १ लाख राशि रहेको उक्त पुरस्कार प्रदान गरिएको हो ।
तेस्रो राष्ट्रिय लेखक दिवसका अवसरमा आयोजित समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले उहाँलाई दोसल्ला ओढाएर कदरपत्रसहित उक्त पुरस्कार प्रदान गर्नुभएको हो ।
यसअघि पहिलो पुरस्कार साहित्यकार बैरागी काईंलालाई प्रदान गरिएको थियो । विसं २००० मा वीरगञ्जमा जन्मनुभएका डा. गौतमले भारतको पुणे विश्वविद्यालयबाट भाषा विज्ञानमा विद्यावारिधि गर्नुभएको छ ।
विसं २०२४ सालबाट उपन्यास लेख्न थाल्नुभएका उहाँका २९ वटा उपन्यास प्रकाशित छन् । आधा दर्जन कथा संङ्ग्रह तथा एक दर्जन नाटक लेख्नुभएका डा. गौतमका कुल ४५ वटा कृति प्रकाशित भएका कार्यक्रममा जानकारी दिइएको थियो ।
सो क्रममा मन्त्री पाण्डेले मुलुकमा पछिल्लो समयमा आशाको भन्दा निराशाको खेती बढिरहेको उल्लेख गर्दै यसले युवा पुस्तालाई झनै निरासामा बदल्ने बताउनुभयो । उहाँले आशाको सञ्चार प्रवाह गर्न सबैमा अनुरोध पनि गर्नुभयो ।
उहाँले राजनीतिमा पनि स्वच्छ मानिसको खोजी भइरहेको जानकारी गराउँदै भन्नुभयो, “अब आमीले पनि गुणस्तर दिन जरुरी छ ।” उहाँले विगतमा भन्दा धेरै कुराहरु परिवर्तन हुँदै आएको पनि बताउनुभयो ।
कार्यक्रममा पुरस्कृति व्यक्ति डा. गौतमले साहित्यले लोकतन्त्रलाई बलियो बनाउनेमा जोड दिँदै सम्मानप्रति खुशी व्यक्त गर्नुभयो ।
कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई मानार्थ सदस्य सम्मान प्रदान गरिएको थियो । यसरी सम्मान पाउनेमा डा गौतमसहित बैरागी काईँला, राजनीतिज्ञ नरहरि आचार्य, डा. बेञ्जु शर्मा, डा. तुलसी भट्टराई, प्राडा हेमाङ्गराज अधिकारी, साहित्यकार हरि अधिकारी, सनद रेग्मी, पूर्वमन्त्री भक्तबहादुर बलायर रहनुभएको छ ।
यस्तै डा. गोविन्दराज भट्टराई, डा. व्रतराज आचार्य, रामानन्द आचार्य, गायत्री श्रेष्ठ, ज्ञानुवाकर पौडेललगायत ३२ जनालाई उक्त सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रममा नेपाली लेखक संघकी उपाध्यक्ष विमला तुम्खेवा, साहित्यकार डा रत्नमणि नेपाल, अनुपमा रेग्मीलगायतले भनाई राख्नुभएको थियो ।