काठमाडौँ, १६ वैशाख : नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फका ६ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी)हरु प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा हुनुभएको छ ।
हिजो सोमवार बसेको मन्त्रिपरिषदको बैठकको निर्णय अनुसार वैशाख ११ गतेदेखि लागू हुने गरी उहाँहरुलाई बढुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।
प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयबाट आज प्राप्त पत्रअनुसार हिजोको मन्त्रिपरिषद बैठकको निर्णयले उहाँहरुको बढुवा भएको र आजै पदस्थापन समेत गरिसकिएको जानकारी दिएको छ ।
बढुवा हुनेहरुमा चन्द्रकुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा मनोजकुमार केसी हुनुहुन्छ ।
उहाँहरुलाई वैशाख ४ गते गृह मन्त्रालयको बढुवा सिफारिस समितिको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको थियो ।
प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागका प्रहरी उपरीक्षक गोगेन्द्रसिंह थापाका अनुसार खापुङलाई केन्द्रीय अनुसन्धानन ब्यूरो, आचार्यलाई प्रहरी प्रधान कार्यालय, कार्य विभाग, पोखरेललाई प्रहरी प्रधान कार्यालय प्रशासन विभाग, कार्कीलाई प्रहरी प्रधान कार्यालय, मानव श्रोत विकास विभाग, अधिकारीलाई प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग र केसलिाई प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागमा आजै पदस्थापन गरिएको छ ।