काठमाडौँ, २५ चैत : पाँच जना महिला कलाकारको संयुक्त कला प्रदर्शनीको चार हजार जनाभन्दा बढीले अवलोकन गरेका छन् ।
काठमाडौँको बबरमहलस्थित नेपाल कला परिषदमा चार दिनसम्म चलेको कला प्रदर्शनीमा चार हजार बढीले अवलोकन गर्नु आफैँमा ठूलो सफलता भएको सहभागी महिला कला सर्जकहरुले बताउनुभयो ।
महिला कलाकारको सामुहिक कला प्रदर्शनीलाई कलापारखी र अवलोकनकर्ताहरुले निकै सराहना गरेका थिए । विद्यार्थी, कला समीक्षक, नयाँ पुराना कलाकार लगायतका चार दिन नै प्रदर्शनीमा भीड रहेको थियो ।
‘टुगेदरनेस’ शीर्षकमा शुक्रवारदेखि शुरु भएको कला प्रदर्शनीमा कवि, गायिका तथा कलाकार कृति शाह चन्दसहित कलाकारहरु कीपा राणा, सगुन शाह सिंह, पूजा अग्रवाल र सन्ध्या सिंह महर्जनका कलाकृतिहरु प्रदर्शनीमा राखिएका थिए । महिला कलाकारका सशक्त कलाकृतिहरु निकै मोहक रहेको प्रतिक्रिया अवलोकनकर्ताहरुले दिनुभयो ।
कला प्रदर्शनीमा रहेका पौभासहितका धेरै कलाकृतिहरु बिक्री भएका छन् । । कलाकार कृति शाह चन्दले दर्शक तथा कला पारखीको अपार माया यस प्रदर्शनीमा प्राप्त भएको बताउनुभयो । यसले आफू लगायत सबै कलाकारलाई थप कला सिर्जना गर्न हौसला मिलेको उहाँले सुनाउनुभयो ।
कला प्रदर्शनीसँगै कला सर्जकहरुका तर्फबाट कलापारखीलाई गीत तथा संगीतले थप मनोञ्जन प्रदान गरिएको थियो ।
वरिष्ठ साहित्यकार पद्मावती सिंहले प्रदर्शनीको उद्घाटनसँगै कलाकार तथा कवयित्री कृति शाह चन्दको पहिलो कविता संग्रह ‘समिश्रण’को विमोचन गर्नु भएको थियो । चैत २२ गतेदेखि सुरु भएको कला प्रदर्शनीमा मूर्त, अमूर्त, यथार्थवादी, समसामयिक, न्यूड तथा पौभा कलाको समिश्रण रहेको थियो ।
वरिष्ठ कलाकार शशिविक्रम शाहले कला क्षेत्रमा महिलाहरु कम रहेको अवस्थामा महिलाहरुको यसरी सामुहिक कला प्रदर्शनी हुनु महत्वपूर्ण भएको बताउनुभयो ।
प्रदर्शनीकाबीच २४ गते आइतवार सुरशाला म्युजिक एकेडमीका कलाकारको सहभागितामा गीतसंगीत प्रस्तुत गरिएको थियो । ललितकला गुठीको आयोजनामा भएको उक्त प्रदर्शनी उत्कृष्ट रुपमा सम्पन्न भएको गुठीका संस्थापक उत्तम डंगोलले बताउनुभयो ।
पाँच महिला कलाकारको कला प्रदर्शनीको व्यवस्थापन तथा क्युरेटिङको काम महिला क्युरेटर तथा कार्यक्रम प्रबन्धक स्मृति कर्माचार्यले गर्नु भएको थियो । उहाँले कला प्रदर्शनी सोचेअनुशार नै सफलतापूर्वक सम्पन्न भएको प्रतिक्रिया दिनुभयो ।
थप समाचार