काठमाडौँ, २२ चैत । काठमाडौँको बबरमहलस्थित नेपाल कला परिषद्मा पाँचजना महिला कलाकारको संयुक्त कला प्रदर्शनी आजबाट शुरु भएको छ ।
‘टुगेदरनेस’ शीर्षकमा सुरु भएको कला प्रदर्शनीको वरिष्ठ साहित्यकार पद्मावती सिंहले एक समारोहकाबीच उद्घाटन गर्नुभयो ।
सोही कार्यक्रममा उहाँले कलाकार तथा साहित्यकार कृति शाह चन्दको पहिलो कविता संग्रह ‘समिश्रण’को विमोचनसमेत गर्नुभएको थियो ।
सो क्रममा उहाँले कला र साहित्य राष्ट्रको धरोहर भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “म कला खासै बुझ्दिन तर पनि आँखाले हेर्दा हृदय छोयो भने त्यो कला चाहिँ सशक्त हो भने लाग्दछ, मैले हेर्दा पाँच महिला कलाकारले बनाएको कलाले मेरो हृदय छोएको छ, यो नरोक्नुहोला । यसरी महिला कलाकार एकजुट भएर अगाडि बढ्नु महत्वपूर्ण कुरा हो ।”
भिडिओ : बरिष्ठ साहित्यकार पद्मावती सिंह
https://www.facebook.com/samriddhisanchar/videos/2580949128908617
उहाँले कवयित्री कृति शाह चन्दको पहिलो कवितासंग्रह समिश्रणमा लेखकले आफ्नो जीवनको भोगाई र जीवनको अनुभूतिलाई कवितामार्फत सम्प्रेषण गर्नु भएको पाएको बताउँदै साधना नछाड्न अनुरोध गर्नुभयो ।
वरिष्ठ कलाकार शशिविक्रम शाहले कला प्रदर्शनीमा नेपाली माटोमा भिजेको हाम्रो कलालाई लयमा उतारिएको बताउनुभयो । महिला कलाकारहरुको संयुक्त कला हेर्दा बडो आनन्द लागेको बताउँदै उहाँले यसरी समुहगत रुपमा काम गर्दा समाजमा ठूलो प्रभाव पर्ने औँल्याउनुभयो । उहाँले भन्नुभयो, “यो प्रयत्नले समाजमा कलासम्बन्धी चेतना बढ्छ, यस्ता प्रदर्शनीलाई निरन्तरता दिनुपर्छ ।”
‘दुगेदरनेस’ शीर्षकमा आयोजित संयुक्त कला प्रदर्शनीमा कवि तथा कलाकार कृति शाह चन्द, कीपा राणा, सगुन शाह चन्द, पूजा अग्रवाल र सन्ध्या सिंह महर्जनका कला कृतिहरु रहेका छन् ।
ललितकला गुठीको आयोजनामा भएको उक्त कार्यक्रममा गुठीका संस्थापक तथा कलाकार उत्तम डंगोेलले महिला कलाकारले संयुक्त रुपमा कला प्रदर्शनी गरेर उहाँहरुको कला समाजमा प्रस्फुटन गरेको बताउनुभयो ।
भिडिओ : वरिष्ठ कलाकार शशिविक्रम शाह
https://www.facebook.com/share/v/16JvKKG2Um/
चार दिनसम्म चल्ने कला प्रदर्शनीमा मूर्त, अमूर्त, यथार्थवादी, समसामयिक, न्यूड तथा पौभा कलाको समिश्रण रहेको छ । कृति शाह चन्दका कलामा भगवानसँगसम्बन्धित कला तथा समसामयिकतासँगै फ्लुड आर्टका भावहरु तरंगित छन् ।
त्यस्तै कीपा राणाले भगवान शिवको अनेक भाव र स्वरुपहरुलाई कलामा उतार्नु भएको छ । पूजा अग्रवालले मानवीय सम्बन्धको भाव समेटनु भएको छ । त्यस्तै सन्ध्या सिंह महर्जनको पौभा कलाको उत्कृष्टता झल्किन्छ । सगुन शाह सिंहले भगवान गणेशसँगको आफ्नो निकटालाई कलामा सुन्दर ढंगले उतार्नु भएको छ ।
कार्यक्रममा कलाकार कीपा राणाले स्वागत मन्तव्य राख्नु भएको स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा कृति शाह चन्द, सन्ध्या सिंह महर्जन, सगुन शाह सिंहले आ–आफ्ना धारणा राख्नु भएको थियो । कार्यक्रममा अनुपस्पस्थित कलाकार पूजा अग्रवालको तर्फबाट उहाँको सन्देश पढेर सुनाइएको थियो ।