काठमाडौँ, २१ चैत : राष्ट्रिय विपद् जोखिम, न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गर्मी मौसम बढेसँगै विविध कारणले केही दिन यता काठमाडौँ उपत्यकालगायत देशका प्रमुख सहरको वायु प्रदूषण खतराको तह नजिक पुगेको जानकारी गराउँदै सचेत हुन आम नागरिकमा अनुरोध गरेको छ ।
बढ्दो वन डढेलो र आगलागीका घटना, सडक निर्माणलगायतका निर्माण कार्यसँगै निस्केका धुलाका कण, सवारी प्रदूषण, फोहरमैला जलाउने कार्यलगायत कारणले काठमाडौं उपत्यकाको भौगोलिक अवस्थिति, हिउँदे वर्षा कम हुनु र मनसुन सुरुवात नभईसकेको अवस्थामा केही दिन यता काठमाडौं उपत्यकालगायत देशका प्रमुख सहरको वायुप्रदूषण खतराको तह नजिक पुगेको प्राधिकरणले जनाएको हो ।
वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) निकै अस्वास्थ्यकर बिन्दुमा पुगेको हुँदा मानिसहरुमा श्वासप्रश्वासमा समस्या, दम र फोक्सोको सङ्क्रमणको जोखिम, सुख्खा खोकी लाग्ने, घाँटी चिलाउने, आँखा पोल्ने, छाला सुख्खा हुने, एलर्जि र जलन हुने, टाउको दुख्ने, थकान महसुस हुने लगायतका स्वास्थ्यसम्बन्धी शारीरिक र मानसिक समस्या बढ्दै गएको प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार वायु प्रदूषणको गाम्भीर्यतालाई ध्यानमा राखी सम्भव भएसम्म घरमै बस्न, कार्यालयका कामहरु घरबाटै व्यवस्थापन गर्न सकिने अवस्था भए घरबाटै गर्न प्रोत्साहन गर्न अनुरोध पनि गर्नुभएको छ ।
प्राधिकरणले आजै एक सूचनासमेत जारी गरी सवारी साधनको प्रयोग कम गर्न, घर, सडक तथा सार्वजनिक स्थानको सरसफाईमा ध्यान दिन, अत्याधिक धुलो र धुँवा उत्सर्जन गर्ने निर्माण कार्य केही समयलाई स्थगन गरी वातावरणमैत्री हुने गरी नियमन गर्न, फोहरमैलाको सही व्यवस्थापन गर्न एवं फोहरमैला नजलाउन अनुरोध गरेको छ ।
यस्तै वन डढेलो लाग्नै नदिन र लागिहाले सावधानीपूर्वक नियन्त्रण गर्न, बालबच्चा, वृद्धवृद्धा र संवेदनशील स्वास्थ्य समस्या भएकाहरुको विशेष हेरचाह गर्न र प्रदूषण बढेको बेला घरबाहिर निस्कँदा सुरक्षित मास्कको प्रयोग गर्न पनि प्राधिकरणले सबैमा अनुरोध गरेको छ ।
वायु प्रदूषण विज्ञहरुका अनुसार अझै एक हप्ता प्रदूषणमा सुधार नहुने देखिएकाले सम्बन्धित जिम्मेवार निकायले वायु प्रदूषणको अवस्थामा सुधार ल्याउन एवं संकटासन्न संवेदनशील समूहलाई सम्भावित असरबाट जोगाउन आवश्यक कदम चाल्न पनि प्राधिकरणले सबैमा विशेष अपिल गरेको प्रवक्ता केसीले बताउनुभयो ।