काठमाडौँ, २ चैत : भीमदर्शन रोका स्मृति कोषले आज काठमाडौँमा एक समारोहका बीच ६ दशकदेखि कला सिर्जनामा सक्रिय वरिष्ठ चित्रकार शशिविक्रम शाहलाई आज आदर्श कला गुरु सम्मान प्रदान गरेको छ ।
कोषले उहाँलाई आज रु ५० हजार १ राशिसहित उक्त सम्मान प्रदान गरेको हो । उहाँलाई सिद्धार्थ बनस्थली स्कुलका प्राचार्य रुपक राजवंशी, साहित्यकार रोचक घिमिरेले सम्मानपत्र र खादा ओढाउँदै सम्मान प्रदान गर्नुभयो ।
यस्तै कोषले आजै काभ्रेको पनौतीमा रहेको सहारा ज्येष्ठ नागरिक समाजलाई पनि सोही राशि बराबरको पुरस्कारसहित सम्मान गरेको थियो ।
भिडियो :
https://www.facebook.com/samriddhisanchar/videos/1036559034952964
सम्मानपछि आयोजित समारोहमा वरिष्ठ कलाकार शाहले कला सिर्जना निरन्तर जारी रहेको जानकारी दिँदै यस्ता कार्यक्रमले आफूलाई थप जाँगर भरेर आउने बताउनुभयो ।
नेपाली कलाकार भएर विश्वमा परिचित हुनेमध्यमा शाह पनि एक हुनुहुन्छ । बेलायतको टेक मोर्डन आर्ट ग्यालरीमा नेपालबाट उहाँको मात्र चित्र राखिएको छ ।
कार्यक्रममा उहाँले शिक्षाकर्मी तथा साहित्यका स्वर्गीय भीमदर्शन रोकाका विगतबारे स्मरण गराउनुभएको थियो र स्वर्गीय रोकाकै स्मृतिमा उहाँलाई सिद्धार्थ बनस्थलीमा २०४० सालको एसएसली ब्याचका विद्यार्थीले उक्त स्मृति कोष स्थापना गरेका हुन् ।
उहाँ विरामी हुँदा दिन ल्याएको एक लाख रकम दिन नपाई विसं २०५९ सालमा निधन हुनुभएको थियो । सोही रकममा परिवारबाट पनि रकम थप गरी कोष स्थापना गरिएको कोषका अध्यक्ष जयदेव कृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।
त्यसपछि २०६० सालदेखि एउटा संस्था र एकजना आदर्श गुरुलाई कोषबाट सम्मान गरिँदै आएको उहाँले बताउनुभयो ।
कार्यक्रममा साहित्यकार रोचक घिमिरेले स्वर्गीय रोकाको जीवनयात्रा तथा लक्ष्मीप्रसाद देवकोटासँग उहाँको सम्बन्धका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले जसरी राज्यबाट रोकाले सम्मान पाउनुपर्ने हो त्यो हुन नसकेको बताउनुभयो ।
नेपालमा आधुनिक मुक्तक भित्र्याउने साहित्यकार रोकाका कवितासंग्रह समेत प्रकाशित छ । कार्यक्रममा सिद्धार्थ बनस्थली स्कुलका प्राचार्य प्राचार्य रुपक राजवंशीले रोकाले स्कुलमा लामो समय पढाउनुभएको र उहाँ आदर्शवान शिक्षक भएको स्मरण गर्नुभयो ।